५ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा जीतको क्रम जारी राख्दै एमएमएफसी निरपानियाले सेमिफाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा सोमवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा एमएमएफसी-ले नेपालको जलथल एफसी (झापा)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मेसोलीले २०औं, बोयोमाले २३औं र फ्रेंकोले ५६औं मिनटमा गोल गरे।

एमएमएफसी निरपानियाका मेसोलीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र वरियर्स इलेभेन (झापा)- बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।








