खरसाङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय छैंटौं वार्षिक सम्मेलन सिटोङमा सम्पन्न भएको छ। स्रष्टा सङ्गमको केन्द्रीय सभापति एल्डर राजु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोस्रो दिन पनि साहित्यिक कार्यक्रम लगायत गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा हिमालयन पेन्टीकोस्टल चर्च डायोसिसको महासचिव एवं माइनोरिटी विभाग जीटीएको सल्लाहकार रेभरेन्ट रमेश गुरुङ र रेभरेन्ट दयाछिरिङ लेप्चा उपस्थित रहेका थिए।

दोस्रो दिनको मुख्य आकर्षणको रूपमा स्रष्टा सम्मान र ख्रीष्टीय भजन/गीत लेखनमाथि विमर्श कार्यक्रम रहेको थियो। दोस्रो दिन बिहानको डिभोशनमा पास्टर दिशन लेप्चाले बाईबलबाट प्रचार गरेका थिए जसलाई करुण राईले सञ्चालन गरेका थिए। दोस्रो दिनको दोस्रो सत्रमा ख्रीष्ट्रीय भजन/गीत लेखनमाथि विमर्श कार्यक्रम आयोजना गरिएको थियो जसमा स्रोत वक्ताको रुपमा वरिष्ठ गायक तथा संगीतकार राम विष्ट, संगीतकार एवं गीतकार आनन्द राई, संगीतकार पास्टर मतियास सुब्बा र संगीतकार एवं गीतकार दिल बान्तावा उपस्थित रहेका थिए भने सहजकर्ताको रुपमा गायक तथा संगीतकार किशोर राई उपस्थित रहेका थिए। कार्यक्रममा रेभरेन्ट डा छत्र सुब्बा पावल, तितस लेप्चा स्मृति पुस्तकालय सिटोङका नानीहरु क्रमैले आकृति छेत्री, सिध्दार्थ छेत्री आदिले कविता वाचन गरेका थिए भने नानी जेसलिन लेप्चाले गीत प्रस्तुत गरेका थिए। दोस्रो दिनको अन्तिम सत्रमा स्रष्टा सम्मान अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई स्रष्टा सङ्गमको केन्द्रीय महासचिव पास्टर शरण ‘शरद’ ले सञ्चालन गरेका थिए। कार्यक्रममा स्रष्टा सङ्गमको केन्द्रीय सल्लहाकार रेभरेन्ट डा. हेमन्त काँफ्लेले बाईबलबाट सन्देश बाँडेका थिए। यसै कार्यक्रममा स्रष्टा सम्मान २०२६ द्वारा प्रेरित ध्रुव ‘शिष्य’ र कथाकार एडना घलेलाई स्रष्टा सम्मान २०२६ द्वारा सम्मानित गरिएको छ। यस अवसरमा दुवैलाई खदार्पणसहित टोपी (प्रेरित ध्रुव ‘शिष्य’), शल ओढाएर सम्मान जनाउँदै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सम्मान पत्र शोभा राई र रजनी जलनले पठन गरेका थिए। सम्मानपछि प्रेरित ध्रुव ‘शिष्य’ र कथाकार एडना घले प्रधानले आफ्नोे आफ्नो सम्बोधन राखेका थिए। कार्यक्रममा सभाध्यक्ष एल्डर राजु राईले अध्यक्षीय सम्बोधन राखेका थिए भने धन्यवाद ज्ञापन छैटौँ वार्षिक सम्मेलनका सभापति दिल बान्तावाले राखेका थिए।

कार्यक्रममा सिक्किम, कालेबुङ, दार्जिलिङ, खरसाङ, सिलगढी, सिटोङ, सालबारी, बिजनबारी लगायत अन्य विभिन्न स्थानहरुबाट स्रष्टाहरु उपस्थित रहेका थिए। अब २०२७ मा स्रष्टा सङ्गमको सातौँ वार्षिक सम्मेलन सिक्किममा हुने भएको छ।









