सोरेङ: सिक्किम सरकारको राज्यव्यापी जनभरोसा सम्मेलन आजदेखि पश्चिम सिक्किमको सोरेङ जिल्लाबाट आरम्भ भयो। आज पहिलो दिन सोरेङ र गेजिङ जिल्लमा यो कार्यक्रम आयोजना गरिएको थियो भने दुवै कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेका थिए। उल्लेखनीय छ, यस कार्यक्रमअवधि सरकारले विभिन्न विभागअधिनस्थ विभिन्न योजनाका लाभार्थीलाई सहुलियतहरू वितरण गरिनेछ।
सोरेङ जिल्लाअन्तर्गत सोरेङ-च्याखुङ, जूम सालघारी, दरमदिन र रिञ्चेनपोङ समष्टिका लागि सोरेङमा नवनिर्मित स्पोर्ट्स कम्प्लेक्स परिसरमा आयोजित जन भरोसा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले वर्तमान सरकारले राज्यवासीले पूर्वमा कहिल्यै नसुनेका योजनाहरू लागु गरेर जनतालाई सुविधाहरू प्रदान गरेको बताए। सरकारले यति धेरै योजना र सहुलियका लागि धनराशि कहाँबाट ल्याउँछ भन्ने बारेमा बोल्दै पैसा पहिलेको सरकारमा पनि रहेको तर सरकारले हाम (भ्रष्टाचार) गरेको कारण जनतासम्म नपुगेको उनले बताए। पहिलेको सरकारमा मन थिएन त्यसैले सम्भव थिएन। वर्तमान सरकारमा मन छ, सबै सम्भव छ, उनले भने।
जन भरोसा सम्मेलनमा सरकारले विभिन्न योजनाका लाभार्थीलाई सहुलियत प्रदान गरिने जसमा आमा सशक्तिकरण योजना, आमा सहयोग योजना, घर निर्माण, होमस्टे निर्माण, घर मरम्मति, इन्भरटर वितरण आदि प्रमुख रहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। प्रत्येक गरीबको मुहारमा खुशी ल्याउनु हाम्रो उद्देश्य हो, मुख्यमन्त्रीले भने।








