सिक्किम सेवाहरू (संयुक्त भर्ती) परीक्षामा कथित नियमितताको जाँच गर्न उच्चस्तरीय कमिटी गठन

गान्तोकः सिक्किम सरकारले गत १६ जनवरीको दिन आयोजित सिक्किम सेवाहरू (संयुक्त भर्ती) परीक्षामा कथित नियमितताको जाँच गर्न एउटा उच्चस्तरीय कमिटी गठन गरेको छ। राज्य कार्मिक विभागले आज उक्त उच्चस्तरीय कमिटी गठन गरिएको सन्दर्भमा अधिसूचना जारी गरेको छ। पाँच सदस्यीय कमिटीमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङलाई अध्यक्ष मनोनित गरिएको छ। यसरी नै सिक्किम पुलिसका एसडीजीपी आईपीएस अक्षय सचदेव, कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटिया, गृह विभागकी सचिव टाशी छो छो र गान्तोकका जिल्लापाल आईपीएस तुषार गुन्जन निखारेलाई सदस्य मनोनित गरिएको छ। सचिव रिन्जिङ छेवाङ भोटियालाई कमिटीको सदस्य सचिवको जिम्मेवारी पनि सुम्पिएको छ। अधिसूचना अनुसार, कमिटीले गत १६ जनवरीको दिन आयोजित सिक्किम सेवाहरू (संयुक्त भर्ती) परीक्षामा कथित अनियमितताको जाँच गर्नेछ। आवश्यकता देखा परेको खण्डमा कमिटीले परीक्षा आयोजनलाई सुव्यवस्थित बनाउन उपयुक्त उपायहरू सुझाउको रूपमा दिन सक्ने छ। कमिटीले अधिसूचना जारी भएको २१ दिनभित्र आफ्नो रिर्पोट बुझाउने छ।

उल्लेखनीय छ, सिक्किम लोक सेवा आयोगले गत १६ जनवरीको दिन आयोजना गरेको परीक्षामा अनियमितताको आरोप लागेको छ। विपक्षी एसडीएफ पार्टीले परीक्षा रद्द गरेर पुनः परीक्षा आयोजन गर्नु पर्ने माग पनि गरिरहेको छ।

About Author

Advertisement