सिक्किम संरक्षक पार्टी गठन

kaxi_487

गान्तोकः सरकार बनाउन सफल भएको खण्डमा “सिक्किमे” को पक्षमा मात्रै काम गर्ने प्रतिवद्धताका गर्दै गठन भयो सिक्किम संरक्षक पार्टी। सामाजिक कार्यकर्ता काजीमान छेत्रीको संयोजकत्वमा आज बुधबार घोषणा गरिएको सिक्किम संरक्षक पार्टीले सरकारमा पुगे भोट लाउने र भोट लड्ने अधिकारी पनि सिक्किम सब्जेक्ट र सीओआई भएका नागरिकको पक्षमा मात्र सुनिश्चित गर्ने बताएको छ। धारा ३७१ एफ को उपधारा के अन्तर्गत भोट लड्ने र भोट लाउने अधिकार सिक्किमे मात्र पाउने प्रवाधान सम्भव छ भन्ने दाबी गर्दै नवगठित पार्टीले पूराना कानूनको इमान्दारिताका साथ पालन र ३७१ एफ को पूर्ण सुरक्षा नै पार्टीको एजेण्डा रहने बताएको छ। गान्तोकमा आयोजित पत्रकार सम्मेलन अवधि पार्टीको घोषणा गर्दै यसका संयोजक काजीमान छेत्रीले सत्ता होइन तर सिक्किमेको भविष्यलाई हेरेर नयाँ पार्टी गठन गरेको बताए।

नवगठित राजनैतिक दलको झण्डा क्रमैले सेतो, पहेंलो र रातो रङ्गको र चुनाउ चिन्ह मोबाइल फोन हुने छेत्रीले घोषणा गरे। सिक्किमका कुनै पनि राजनैतिक दलमा अहिलेसम्म संलग्नता नरहेका मानिसहरूलाई लिएर नयाँ पार्टी गठन गरेको र यसको पञ्जिकरण प्रक्रिया शुरु भएको उनले जानकारी दिए। आजको पत्रकार सम्मेलनलाई पार्टीका राज्य संयोजक शिशिर खड्का र मुख्य संयोजक काजीमान छेत्रीले सम्बोधन गरेका थिए। यस पार्टीमा सामेल रहेका सबै सिक्किम र सिक्किमेको भविष्यप्रति इमान्दार रहेको दाबी गर्दै विधानसभा चुनाउमा ३२ मध्ये १२ जना महिला उम्मेदवारलाई खडा गर्ने पार्टीले घोषणा गऱ्यो। यो पार्टी सरकारमा पुगेको खण्डामा सिक्किममा फर्जी दस्तावेज बनाएका सबैको दस्तावेज खारेज गर्ने, फर्जी दस्तावेजको आधारमा नोकरी पाएका सबैलाई नोकरीबाट निकालेर स्थानीय शिक्षत युवालाई नोकरी दिएर राज्यको बेरोजगार समस्या समाधान गर्ने काजीमान छेत्रीले बताए। सिक्किममा आवासीय प्रमाणपत्र अथा आरसी नै अशान्तिको मूल जड हो भन्दै सिक्किम संरक्षक पार्टी सरकारमा पुगे सबै आरसी खारेज गर्ने र आरसीका आधारमा पञ्जीकरण भएका सबै सम्पति रद्द गरिने बताए। यो पार्टी केवल सिक्किमेको पक्षमा खडा भएको दाबीका साथ उनले आरसी धारकको भोट पनि नमाग्ने बताए।

-हिस

About Author

Advertisement