गान्तोक: सिक्किम संयुक्त इसाई कल्याण संघको अध्यक्ष पदको लागि आज गान्तोकको सन्त थोमस चर्चमा मतदान भएको थियो। यसपालिको चुनाउमा अध्यक्ष प्रार्थीको रुपमा कर्ण पावल राई, स्टेफन राज छेत्री अनि पास्टर रिंकु तेञ्जिङ लेप्चा खडा भएका थिए । यस मतदानमा ३५४ भोटले पास्टर रिंकु तेञ्जिङ लेप्चा विजयी बनेर यस संघको नयाँ अध्यक्षको पदमा नियुक्त भएका छन्। सिक्किमभरिकै ६ वटा जिल्लाबाट विभिन्न मण्डलीका सदस्यहरुले साथै अन्य इसाई संघ संस्थाहरुले उत्साहपूर्वक आजको मतदानमा भाग लिएका थिए। आज भएको मतदानको पूर्ण संख्या ६७८ रहेको थियो।जसमा ३५४ मतले पास्टर रिंकु तेञ्जिङ लेप्चाको खातामा परेको थियो। मतगणनापछि चुनाउ आयुक्त साथै पूर्व कार्यकारिणी समितिले एउटा प्रेस वार्ता आयोजना गरेर विजयी उम्मेदवारलाई वधाई दिए साथै सफल कार्यकालकोलागि शुभकामना टक्राए। सिक्किम संयुक्त इसाई कल्याण संघले हालसम्म सम्पूर्ण सिक्किमका इसाई मण्डलीहरुको हितमा काम गरिरहेको कुरा पूर्व अध्यक्ष एल्डर पत्रुस गुरुङले बताएका छन् साथै नव कार्यकारिणी समितिले समस्त सिक्किमका मण्डलीहरका पक्षमा कार्य गर्ने कुरामा उनी विश्वस्त रहेको बताए।पूर्व कार्यकारिणी समितिले असल कार्यहरु गरेर यस संस्थालाई सिक्किममा मात्र नभएर संसारका विभिन्न भागमा छरिएर बसेका इसाईहरुबीच परिचय गराउन सफल बनेको कुरा अवगत गराउँदै नव समितिले पनि सोहीपरी काम गर्ने कुरामा उनी विश्वस्त रहेको बताए। अन्तमा आज धेरै प्रतिकुल मौसम रहेतापनि टाढा टाढाबाट उत्साहपूर्वक चुनाउमा सहभागिता जनाउन आएका सबैलाई उनले संघकोतर्फबाट धन्यवाद दिए।









