गान्तोक: सिक्किम विश्वविद्यालयले भारत सरकारद्वारा जारी गरिएको राष्ट्रीय शिक्षा नींतिलाई सही ढङ्गमा कार्यान्वयन गरेको बताएको छ। आज राजधानीको जिरोपोइन्टस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम विश्वविद्यालयका उपकूलपति अभिनाष खरेले वर्ष २०२१ देखि राष्ट्रीय शिक्षा नीतिलाई व्यवहारमा ल्याएको बताए। यसलाई व्यवहारमा ल्याउन भन्दा अघि २०१९ मा एक ड्राफ्ट पठाइएको र त्यसपछि राष्ट्रीय शिक्षा नीतिलाई लिएर एक समिति गठन गरिएको बताए। उक्त समितिले विभिन्न विषयमा गहिरो अध्ययन र छलफल गरेपछि २०२१ देखि व्यवहारमा ल्याएको जानकारी गराए। उनले विशेष गरेर तीन वर्षको अवधिमा राष्ट्रीय शिक्षा नीति अन्तर्गत शिक्षाको क्षेत्रमा देखापरेको सुधार र प्रगतिबारे पनि अवगत गराए। उनले जानकारी गराए अनुसार सिक्किम विश्वविद्यालयले विभिन्न प्रकारको नयाँ कोर्स शुरू गर्ने योजना बनाएको छ भने यसै अन्तर्गत मास्टर बुद्धिस्ट स्टडी शुरू गर्ने भएको छ। यस कोर्सको निम्ति एसयूले नामग्याल इन्सटीट्यूट अफ् टिबेटोलजीको सहयोग लिने पनि उनले थप बताएका छन्। यसबाहेक पनि एसयूले एकाडमिक व्याङ्क अफ् क्रेडिट शुरू गर्ने निश्चित रहेको छ। विशेष गरेर एकाडमिक्स व्याङ्क अफ् क्रेडिटको माध्यमद्वारा विद्यार्थीहरूको सम्पूर्ण रेकर्ड सुरक्षित गर्नको साथै सजिलै प्राप्त गर्न सकिने प्रावधान रहेको जानकारी गराए।










