सिक्किम राज्य स्वर्ण जयन्ती महोत्सवमा मेडिटेसन शिविर

IMG-20250428-WA0270

गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षागाँठ एवं स्वर्ण जयन्ती महोत्सवको एक अंशको रुपमा आज राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियमा हलमा मेडिटेसन शिविर आयोजन गरियो। कार्यक्रमको थिम “मनको आन्तरिक शान्ति” रहेको थियो। उक्त कार्यक्रम धर्म विभागको पहलमा आयोजना गरिएको हो। कार्यक्रममा रिम्पोछे नाम्खा र धर्म विभागीय मन्त्री सोनाम लामाको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री लामाले सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ समारोह सिक्किमको भविष्यका निम्ति आकांक्षाको प्रतीक बताए। उनले विद्यार्थीहरूलाई आन्तरिक शान्ति र पारस्परिक प्रेमको विकास गर्न प्रोत्साहित गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको भीजनलाई साकार पार्न विभागले शुरू गरेको पहलको प्रशंसा गरे। युवाहरू राज्यको भविष्य र संरक्षक हुन्, तसर्थ उनीहरूलाई सही मार्गदर्शन दिनुपर्ने सुझाउ दिए। मन्त्री लामाले विद्यार्थीहरूलाई आफ्ना शिक्षकहरूको सम्मान गर्ने सुझाउ दिँदै शिक्षकहरूले विद्यार्थीहरूको भविष्यको निर्माणको निम्ति मार्गदर्शन गरिरहेको बताए। उनले आज आयोजित मेडिटेसन सत्रबाट प्राप्त शिक्षालाई आफ्नो दैनिक जीवनमा एकीकृत गर्न र आफ्नो परिवारमा शान्तिको सन्देश फैलाउने आग्रह गरे। यस अवसरमा टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालय, तादोङ वरिष्ठ माध्यमिक विद्यालय, मोडर्न वरिष्ठ माध्यमिक विद्यालय, वेस्टपोइन्ट वरिष्ठ माध्यमिक विद्यालय, इञ्चे वरिष्ठ माध्यमिक विद्यालय, सिच्छे तामाङ गुम्बा स्कूल, विभिन्न महाविद्यालयहरूले पनि सहभागिता जनाएका थिए।

About Author

Advertisement