राज्यको सुरक्षा र विकाससहित विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल
गान्ताेक: भारतीय जनता पार्टी(भाजपा) सिक्किम प्रदेश अध्यक्ष डी आर थापाले राज्य महासचिव अर्जुन राईका साथ नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच सिक्किमको सुरक्षा, संवैधानिक आकाङ्क्षा, विकास र राज्यमा भाजपाको सङ्गठनात्मक विस्तारका थुप्रै महत्त्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको छ। अध्यक्ष थापाले हालै गान्तोकमा अनलाइनमार्फत कथित रूपमा कट्टरपन्थी बनेको मामिलामा भएको गिरफ्तारीबारे गृहमन्त्रीलाई जानकारी गराउनुहुँदै उग्रवादी एवं राष्ट्रविरोधी गतिविधिहरूविरुद्ध खुफिया समन्वय, साइबर निगरानी र सतर्कतालाई अझ सुदृढ बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभयो। रणनीतिक रूपमा महत्त्वपूर्ण सीमावर्ती राज्य भएकाले सिक्किमको शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भावलाई प्रभावकारी सुरक्षा उपायहरूद्वारा सुरक्षित राखिनुपर्नेमा उहाँले जोड दिनुभयो।
यसका साथै भाजपा प्रदेश अध्यक्षले लामो समयदेखि विचाराधीन रहेको लिम्बू-तामाङ विधानसभा सिट आरक्षणको मुद्दा र छुटाइएका एघार जोड एक समुदायलाई अनुसूचित जनजातिको दर्जा दिने मागप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। उहाँले यस विषयको शीघ्र र संवैधानिक समाधानका लागि भारत सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। भेटमा कर्मापा विवाद लगायत सिक्किमका अन्य महत्त्वपूर्ण राजनीतिक र विकासात्मक मामिलाहरूमा पनि संवाद भएको थियो। लगातारको भारी वर्षाका कारण सिक्किमका विभिन्न भागमा पहिरो र सडक अवरोध भई जनताले भोग्नुपरेको समस्या र भएको ठूलो क्षतिको सन्दर्भ उठाउँदै थापाले राहत, पुनर्स्थापना र विपद्-प्रतिरोधी पूर्वाधार निर्माणका लागि केन्द्र सरकारबाट थप सहयोगको माग गर्नुभयो।
औद्योगिक क्षेत्रको सुरक्षाप्रति चासो व्यक्त गर्दै अध्यक्ष थापाले मौजुदा कम्पनीहरूका लागि बजेटरी सहायता योजनालाई सन् २०२७ पछि पनि निरन्तरता दिन अमित शाहसँग आग्रह गर्नुभयो। कर सम्बन्धी औद्योगिक प्रोत्साहनहरू बन्द भएमा उद्योगहरू सिक्किमबाट पलायन हुन सक्ने र यसले हजारौँ सिक्किमेली युवाहरूको जीविकोपार्जन सङ्कटमा पर्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो। उहाँले सिक्किममा भाजपाप्रति बढ्दो जनसमर्थन र पार्टीको सङ्गठनात्मक विस्तारबारे पनि गृहमन्त्रीलाई अवगत गराउनुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राज्यको समावेशी विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको पुनरोच्चारण गर्नुभयो। केन्द्र सरकारका तर्फबाट गृहमन्त्री अमित शाहले प्रतिनिधिमण्डलद्वारा उठाइएका सबै विषयहरूलाई गम्भीरतापूर्वक अध्ययन गरिने र सिक्किमका जनताको बृहत्तर हित, सुरक्षा र विकासका लागि आवश्यक ध्यान दिइने आश्वासन दिनुभएको छ।











