गान्तोक: हथकर्घा एवं खादीमाथि महिलाहरूको भारतीय चेम्बर अफ् कमर्स एण्ड इण्डस्ट्रीको पहलमा गुवाहटीमा आयोजित लोम्स कनक्लेभमा सिक्किम फिल्म बोर्डका अध्यक्ष पूजा शर्माले सहभागिता जनाइन्। यस सम्मेलनमा उनलाई उत्कृष्ट महिलाको अवार्डले सम्मान जनाइयो। डब्ल्यूआईसीसीआईका राष्ट्रिय अध्यक्ष एवं संस्थापक डा. हारबीन अरोरा राईको बाहुलीबाट श्रीमती शर्माले उक्त अवार्ड ग्रहण गरिन्। शर्माको विषय ‘के आईपीआर र एआई साझेदारीले हथकर्धा र खादी क्षेत्रलाई रूपान्तरण गर्न सक्छ’ भन्ने रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विकासशील देशहरूमा ग्रामीण अनि शहरी जुलाहाहरूमाझ ज्ञान साझा गर्ने सम्बन्धमा एक ठूलो अन्तर रहेको विचार पोखिन्। यसको एक कारण उचित अनि सठीक जानकारीको प्रसारमा कमी रहेको बताइन्। ग्रामीण क्षेत्रहरूका एक जुलाहालाई आफ्नो शहरी समकक्षको रूपमा आर्टिफिशियल इण्टेलिजेन्सको फाइदा उठाउन अनि आफ्नो उत्पादहरूलाई विश्वभरि सुलभ बनाउने अवसर प्रदान गरिनुपर्ने विचार पोखिन्।










