सम्मान पाउने १५औँ राज्य बन्यो सिक्किम
गान्तोक: सिक्किम पुलिस देशकै प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’ बाट सम्मानित बनेको छ। यससँगै यो सम्मान प्राप्त गर्ने सिक्किम देशको १५औँ राज्य बनेको छ।
सिक्किम पुलिसका महानिदेशक (डीजीपी) अक्षय सचदेवले आज राजधानी गान्तोकस्थित पुलिस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार गत १६ जनवरीमा गृह मन्त्रालयबाट सिक्किम पुलिसलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको औपचारिक सूचना प्राप्त भएको हो।
डीजीपी सचदेवले ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’ सिक्किम पुलिसका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले सम्पूर्ण ऱ्याङ्क र संगठनको सम्मान बढाएको बताए। उनले यो सम्मान पुलिस कर्मीहरूको परिश्रम, साहस र जनसेवाप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्राप्त भएको बताए।
सचदेवले उक्त सम्मान हाल कार्यरत सम्पूर्ण पुलिस कर्मीका साथै सेवानिवृत्त पुलिस कर्मीहरूलाई पनि समर्पित रहेको उल्लेख गरे। उनले मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङको नेतृत्व, सिक्किम सरकार, राज्यवासी तथा प्रेस–मिडियाको सहयोगले यो उपलब्धि सम्भव भएको बताए।
डीजीपीका अनुसार भारत स्वतन्त्र भएयता सन् १९४७ देखि हालसम्म १४ वटा राज्यले मात्र ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’ प्राप्त गरेका छन्। सिक्किम यस सम्मानबाट विभूषित हुने १५औँ राज्य हो। यो पुरस्कार विधिवत अलङ्करण परेडमार्फत देशका राष्ट्रपति, प्रधानमन्त्री वा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने व्यवस्था रहेको उनले जानकारी गराए। सम्मानस्वरूप विशेष ध्वज र प्रतीक चिन्ह प्रदान गरिनेछ।
उनले ध्वज र प्रतीक चिन्ह तयार भएपछि सिक्किम सरकारमार्फत केन्द्रिय गृह मन्त्रालयमा अनुमोदनका लागि पठाइने र त्यसपछि सम्मान प्रदान गर्ने विशिष्ट अतिथि तथा अलङ्करण परेडको मिति तय गरी सिक्किममै कार्यक्रम आयोजना गरिने बताए।
डीजीपी सचदेवका अनुसार राज्यमा शान्ति, कानुन व्यवस्था, जनमैत्री तथा पर्यटकमैत्री पुलिस, ट्राफिक व्यवस्थापन, पुलिस–जनता अनुपात, यातायात साधनको गुणस्तर र नवीनीकरण, साइबर फ्रन्टजस्ता विभिन्न मापदण्डका आधारमा यो सम्मान प्रदान गरिन्छ। उनले यस उपलब्धिपछि सिक्किम पुलिस अझ बढी विनम्रता, जिम्मेवारी र आत्मविश्वासका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।










