गान्तोक: यस साल गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको अवधि मैदानमा अनुशासनहीनताले गर्दा अल इण्डिया फूटबल फेडरेशनको अनुशासनात्मक समितिले सिक्किम ड्रेगन्स फूटबल क्लबलाई कठोर शास्ती दिएको छ। सिक्किम फूटबल एसोसिएशनका तत्त्वावधानमा हुने यस प्रतिष्ठित टुर्नामेण्टको पहिलो सेमिफाइनल म्याचको अवधि मैदानमा अतिथि टीम राजस्थान युनाइटेडका खेलाड़ीहरूसँग कुटपीट गरिएको थियो। त्यस घटनाको भीडियो सोशल मीडिया प्ल्याटफर्महरूमा पनि निक्कै भायरल भएको थियो। त्यही घटनालाई केन्द्र गरेर एआईएफएफ-ले सिक्किम ड्रेगन्स एफसी-माथि ७५ हजार रुपियाँको जरिमाना लगाएको छ। टीमका म्यानेजर कुञ्जांग भूटियामाथि पनि ४ म्याचको प्रतिबन्ध र २० हजार रुपियाँको जरिमाना लगाइएको छ। यसबाहेक खेलाड़ीहरू उत्तम राई, एलिआस राई र अश्विन राईमाथि ४ म्याचको प्रतिबन्ध र २० हजार रुपियाँको जरिमाना लगाइएको छ। पदम छेत्री र छिरिंग ओंगदा शेर्पामाथि ३ म्याचको प्रतिबन्ध र २० हजार रुपियाँको जरिमाना लगाइएको छ। यसबाहेक अनिथ सुब्बामाथि ६ म्याचको प्रतिबन्ध र २० हजार रुपियाँको जरिमाना लगाइएको छ। सिक्किम ड्रेगन्स एफसी विरुद्ध सेमिफाइनलमा जीतपछि राजस्थान युनाइटेडले पछिबाट च्याम्पियन बन्ने गौरव पनि हासिल गरेको थियो।










