सिक्किम अकादमीको  लोकगीत बचाउने प्रशिक्षण

WhatsApp-Image-2024-05-15-at-20.12.12

जरा बिनाको रूख हुँदैन पुर्खा बिनाको सन्तान हुँदैन्: एसआर सुब्बा

गान्तोक: सिक्किम अकादमीले हराउँदै गइरहेको लोक संस्कृतिलाई जगेरा गर्ने अभियान थालेको छ। यसैक्रममा आगामी १८ मईदेखि पाँच दिवसीय लोक गीत प्रशिक्षण तथा कार्यशाला आयोजन गरेको छ। विशेष रूपमा विश्वविद्यालय र महाविद्यालयमा अध्ययनरत संगीतका विद्यार्थीहरूलाई प्रशिक्षित गरिने छ। यसैगरि सिक्किम सरकारका संस्कृति विभागका कलाकारहरूले पनि सहभागिता दिनेछन्। सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो प्रशिक्षण राख्नुको उद्देश्य भावि पुस्ताको निम्ति परम्परागत लोक संस्कृति र पहिचानलाई सिकाउने अनि उनीहरूमार्फत ती कुराहरूलाई बचाएर लान यस्तो पदक्षेप उठाएको बताए। उनले हाम्रो मौलिकता हाम्रो अस्तीत्व नाराको साथमा प्रशिक्षण दिइने बताए। जसमा लोपोन्मुख लोक गीत दमके (रसिया), असारे र घसियाँको गायन, प्रस्तुतीबारे प्रशिक्षित गरिने छ। उनले भने, हामी हामी नै बस्नुपर्छ उनी र उनीहरू हुनु होइन भन्ने कुरा युवा पिडीमा पुऱ्याउने उद्देश्य सिक्किम अकादमीको रहेको बताए।

जरा बिनाको रूख हुँदैन पुर्खा बिनाको सन्तान हुँदैन् भन्ने कुराको सन्देश दिएर व्यस्त युवा पिडीलाई आफ्नो जरा नबिर्सने र आफ्नो पुर्खा नबिर्सिने आह्वानको साथमा यो कार्यक्रम गरेको बताए। उनले संगीत नाटक अकादमी पुरस्कारले विभुषित कलाकार नरेन गुरुङले प्रशिक्षित गराउने बताए। यसैगरि कार्यक्रमको बारेमा सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जनले सबै महाविद्यालय, कञ्चनजङ्गा विश्वविद्यालय र सिक्किम सरकारको संस्कृति विभागका कलाकारहरूलाई यो प्रशिक्षणमा समेट्ने निर्णय गरेको बताए। उनले सबैलाई यसको फायदा उठाउने आह्वान गर्दै मनन केन्द्रको मिनी थेटरमा यो कार्यक्रम गरिने बताए।

अर्कोतिर सिक्किम अकादमीका सचिव प्रशासन पीएल शर्माले यो पहललाई राज्यको लोक परम्परालाई बचाउने प्रयास रहेको बताउदै यसले युवाहरूलाई फाइदा दिने बताए। अर्कोतिर प्रशिक्षक नरेन गुरुङले तीनवटा तोकिएको गीत समय अनुसारको हिसाबले छानिएको बताए। अहिले मकै गोड्ने बेला भएको कारण दमके (रसिया) सही भएको तथा असारे गीत पनि धान रोप्ने समय भएको कारण प्रशिक्षित गराउने समय यही उपयुक्त भएको बताए। यसैगरि उनले घसियाँ गीत पनि प्रशिक्षणमा समेट्ने प्रयास गरिएको जसले तीनै गीतको समय समानताको हिसाबमा सही रहेको हुनाले यी तीन लोपोन्मुख लोक गीत प्रशिक्षित गराउने निर्णय गरेको बताए। यसलाई निःशुल्क प्रशिक्षण प्रदान गरिरहेको अनि इच्छुक महानुभवहरूले सहभागी बनिदिने आग्रह पनि गरेका छन्। कार्यशाला १८ मईदेखि २२ मईसम्म चल्नेछ।

About Author

Advertisement