गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ४९औं राज्य दिवसको अवसरमा राज्यबासीलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। आज सिक्किममा लोकतान्त्रिक व्यवस्थाको ४९औं वर्ष पूरा भएको छ। १६ मई १९७५ मा विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा स्वैच्छिक एकीकरणबाट आजसम्मको यात्रा सिक्किमे जनताका लागि गहिरो रूपमा स्मरणीय र अर्थपूर्ण छ। सिक्किमले लोकतान्त्रिक प्रणाली अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधारलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय विकास हासिल गरेको छ, जसले अन्य राज्यहरूको लागि उदाहरण प्रस्तुत गरेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
सिक्किमको प्राकृतिक सौन्दर्य, यसको शान्त वातावरण, समृद्ध धार्मिक परम्परा र जातीय सद्भावले सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको रूपमा काम गरेको उनको भनाइ रहेको छ। यस शुभ अवसरमा उनले राज्यका जनतालाई एकजुट हुन र सिक्किमलाई विकास र समृद्धिको उच्च उचाइमा अघि बढाउन, विकसित भारत @२०४७ को लक्ष्य हासिल गर्न अपील गरेका छन्।
सिक्किम राज्यलाई अभूतपूर्व विकासतर्फ लैजाने प्रतिबद्धता पूरा गर्न शान्ति र भ्रातृत्व कायम राख्न उनले सबैलाई आग्रह गरेका छन्।










