गान्ताेक: सिक्किमकी बेबियाना गुरुङले ५औं कियो नेशनल कराटे च्याम्पियनशिप (अन्डर-२१ र वरिष्ठ पुरुष एवं महिला) मा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्ने गौरव प्राप्त गरेकी छन्। यो च्याम्पियनशिप २६ फेब्रुअरीदेखि १ मार्चसम्म नयाँ दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा आयोजना गरिएको थियो।
बेबियाना गुरुङले वरिष्ठ महिला काता श्रेणीमा कांस्य पदक जितेकी छन् र काता श्रेणीमा कांस्य पदक जित्ने पहिलो सिक्किमकी प्रतिभागी बनेकी छन्। एसोसिएशनले उनको यस उपलब्धीमा हर्ष व्यक्त गर्दै बधाई दिएको छ।
यस प्रतियोगितामा सिक्किम स्टेट कराटे डू एसोसिएशनले प्रशिक्षक बिनम गुरुङको नेतृत्वमा तीन प्रतियोगीलाई सहभागी गराएको थियो, जसमा बेबियाना गुरुङ, दिवाकर छेत्री र अनुरोध राई समावेश थिए।
बेबियानाको यो जित सिक्किमका लागि गर्वको विषय बनेको छ र यसले सिक्किमका अन्य खेलकुद प्रतिभाहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।









