गान्तोक: सिक्किमका १२औं छोग्याल पाल्देन थेण्डुप नामग्यालको एक वर्षव्यापी जन्म शतवार्षिकी समारोहको आज समापन भयो। नामग्यल इन्स्टीट्यूट अफ् टिबेटोलेजी (एनआइटी)ले यस समारोहको आयोजना गरेको थियो जसअन्तर्गत वर्षभरी नै विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। देउरालीस्थित एनआइटी परिसरमा आयोजित आजको समापन कार्यक्रममा राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा मुख्य अतिथि रहेका थिए। यसको साथै कार्यक्रममा धर्म मन्त्री सोनाम लामा र सड़क एवं पुल मन्त्री सामडुप लेप्चा साथै राजकुमार तोप्गेल वाङ्गचुक तेऋजिङ नामग्यल, राजकुमार पाल्देन ग्युर्मित नामग्याल लगायत अन्यले १२औं छोग्यालको प्रतिमाअघि श्रद्धासुमन अर्पण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले सिक्किम भारतमा विलय भई २२औं राज्यको रूपमा अस्तित्वमा आउने प्रक्रियाअन्तर्गत ८ मई १९७३-को त्रिपक्षीय समझौतामा सिक्किमेहरूलाई गणतान्त्रिक भारतको संविधानको धारा ३७१(एफ)-मार्फत विशेष पहिचान प्रदान गराउन राजा पाल्देन थेण्डुप नामग्यालको मुख्य योगदान रहेको बताए। उनकै शासनकालमा सिक्किमेहरूलाई विशिष्ट परिचय सिक्किम सब्जेक्ट प्रदान गरिएको जसमार्फत पछि धारा ३७१(एफ) अन्तर्गत विशेष स्थान पाएको उनले थप बताए। योसँगै पत्रकारहरूसँगको कुराकानीमा आफू बालक छँदा आफूले देखेको १२औं छोग्याल पाल्देन थेण्डुप नामग्याल उदारवादी हृदयका धनी थिए भन्ने मन्त्री लेप्चाले स्मरण गरे।
पत्रकारहरूसँगको कुराकानीमा नामग्याल इन्स्टिच्युट अफ् टिबिटोलजीका सचिव एवं आयोजक समितिका उपाध्यक्ष पी.डब्ल्यू. रिञ्जिङले वर्तमान सिक्किम निर्माणमा १२औं छोग्याल पाल्देन थेण्डुप नामग्यालको योगदान उल्लेखनीय रहेको बताए। योसँगै एक वर्ष व्यापी कार्यक्रमलाई सफल तुल्याउन योगदान पुऱ्याउने सम्पूर्णलाई उनले धन्यवाद दिए।

उल्लेखनीय छ, २२ मई १९२३-मा जन्मिएका राजा पाल्देन थेण्डुप नामग्याल छोग्याल वंशका १औं राजा थिए। उनले ४ अप्रेल १९६५-मा राज्याभिषेक गरेपछि १० अप्रेल १९७५-सम्म सिक्किममा शासन गरेका थिए। त्यसपछि सिक्किम भारतमा विलय भएर २२औं राज्यको रूपमा अस्तित्वमा आएको थियो।










