नेपाली संस्कृति परिषदको सिक्किम टोलीद्वारा सिक्किमका राज्यपालसित भेटघाट

00-1-IMG-20230326-WA0091

गान्तोक: नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियको सिक्किम प्रदेश टोलीले राज्यका राज्यपाल लक्ष्मण आचार्यसित गान्तोकस्थित राजभवनमा शिष्टाचारमूलक भेट गरेको छ। यस टोलीको अगुवाई यसका नेपाली संस्कृति परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसिया र परिषदका सिक्किम प्रदेश अध्यक्ष अनन्त कुमार भण्डारीले गरेका थिए। यस टोलीमा अन्तर्राष्ट्रिय महासचिव राजेन्द्र शिवाकोटी, प्रदेश उपाध्यक्ष थमन नौबाग, प्रदेश महासचिव डिकेन्द्र पौडेल, गणेश प्रधानलगायत सिक्किमका सबै जिल्ला प्रमुखहरू सामेल थिए। यसबारेमा परिषदले प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छl  नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियको कार्य, लक्ष्य र उद्देश्यहरूबारे राज्यपाललाई अवगत गराउँदै अशोक चौरसियाले भने, ‘नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियले हिमाली भेकका सबै संस्कृति भेष, भाषा, परम्परा, संस्कारहरूको जगेरा त्यसको संरक्षण र सम्वर्धन गर्दै सामाजिक सौहार्द र एकात्मता कायम गर्ने काम गर्दछ। संस्कृति, समाज र राष्ट्र जागरण, राष्ट्र प्रेमलाई प्रोत्साहित गर्ने काम सन् २००६ देखि निःस्वार्थ भावले गर्दै आएको छl’ गए वर्ष दिसम्बर महिनामा वाराणसीमा काशी नेपाली सङ्गमको   सफलताबारे  पनि राज्यपाललाई अवगत गराए। सिक्किममा विगतमा भव्य आयोजनहरू विशेष गरी हिन्दू बौद्ध सम्मेलनबारे राजेन शिवाकोटी, अनन्त कुमार भण्डारी, गणेश प्रधान, थमन नौबागले राज्यपाललाई अवगत गरेको विज्ञप्तिमा बताइएको छl

सो भेटघाटको अवसरमा परिषदका राज्यपालले पदाधिकारीहरूसितको गरेका वार्तालाप बारे पनि विज्ञप्तिमा बताइएको छl विज्ञप्तिमा बताइएअनुसार राज्यपालले सिक्किमको संस्कृति र विरासतहरू समृद्ध रहेको बताए। उनले भने, ‘भाषा, भेष, भवन, भ्रमण र भोजनले समाज जाति प्रान्त राष्ट्रलाई सदैव जोड़न  एकबद्ध गर्ने काम गर्छ। संस्कृतिले  व्यक्तिलाई समाज राष्ट्रसित जोड़ने काम गर्छ। यसर्थ हामी सबैले आफ्नो संस्कृति, परम्परा,  भेष, भाषा आदिलाई प्रोत्साहन दिनुपर्छ। नेपाली संस्कृति परिषदले यसको संरक्षण सम्वर्धन तथा नयाँ पिढीमा यसको महानता, गौरव अनि श्रेष्ठताको संचार गर्ने जुन  काम गर्दछ त्यो सराहनीय छ, र यो कार्यलाई सदैव निरन्तरता दिइरहनुपर्छl’ नेपाली भाषा साहित्य धेरै समृद्ध रहेको हुनाले यसको विकास र सम्वर्धन गर्न आवश्यक रहेको राज्यपालले टोलीलाई बताएका छन्। परिषदका टोलीलाई उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा नयाँ शिक्षा नीति लागू गरि भारतीय भाषाहरूलाई समृद्ध गर्ने तथा राज्यमा त्यो भाषाहरूलाई प्रोत्साहन दिने काम गरी रहनुभएको छ। समाज र राष्ट्र विरोधी तत्वहरूले सधैं समाजलाई तोड़ने प्रयास गर्छन्। यस्ता तत्वहरूदेखि आफू सचेत रहेर समाजलाई सचेत गराउनुपर्छ। सिक्किमलाई सुन्दर र विकसित राज्य बनाउनुमा सकारात्मक भूमिका खेल्नुपर्छl’

About Author

Advertisement