सिक्किमका अन्तिम राजा पाल्देन थेण्डुप नामग्यालको जन्म शतवार्षिकी भव्यतापूर्वक सम्पन्न

IMG-20220522-WA0146.jpg

गान्तोक। सिक्किममा छोग्याल वंशका अन्तिम राजा पाल्देन थेण्डुप नामग्यालको जन्म शतवार्षिकी आज विविध कार्यक्रममाझ पालन गरियो। राज्यका राज्यपाल गंगा प्रसादले आज बिहान यहाँको एमजी मार्गमा पाल्देन थेण्डुप नामग्यालको तस्वीरमा खदार्पण गरे अनि यस अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरे। यसपछि उनी सोझै देउराली स्थित नामग्याल इन्स्टिच्युट अफ् टिबिटोलोजीमा रहेको पाल्देन थेण्डुप नामग्यालको प्रतिमास्थलमा पुगेर सिक्किमका अन्तिम राजाप्रति श्रद्धासुमन अर्पण गरे। यस अवधि त्यहाँ राजकुमार पाल्देन वाङ्चुक नामग्याल, राज्यका मन्त्रीगण कुङ्गा निमा लेप्चा, सोनाम लामा, सामडुप लेप्चा, अरुण अप्रेती, गान्तोक नगरनिगमका मेयर निलबहादुर छेत्री लगायत वरिष्ठ हस्तीहरूको उपस्थिति रहेको थियो। उनीहरू सबैले पूर्व राजाको प्रतिमाअघि खदार्पणसँगै श्रद्धासुमन अर्पण गरे। अन्तिम राजाको स्मरणमा संगीतकार एसके प्रधानद्वारा मेण्डोलिनमा धूनहरू प्रस्तुत गरियो भने उनलाई राजकुमार पाल्देन वाङ्चुक नामग्यालले खदार्पण गरेर सम्मान जनाए।

पत्रकारहरूलाई सम्बोधन गर्दै नामग्याल इन्स्टिच्युट अफ् टिबिटोलोजीका महासचिव एवं राजा पाल्देन थेण्डुप नामग्यालको जन्म शतवार्षिकी उत्सव समितिका उपाध्यक्ष पी. डब्ल्यू. रिञ्जिङले जन्म शतवार्षिकी उत्सव एक वर्षभरि आयोजन गर्ने बताए।

जानकारी गराइन्छ, सिक्किमका अन्तिम राजा पाल्देन थेण्डुप नामग्यालको जन्म २३ मई १९२३-मा गान्तोकमा भएको थियो। उनी २ दिसम्बर १९६३-मा सिक्किमको १२औं राजाको रूपमा राज सिंहासनमा बसेका थिए भने उनले १० अप्रेल १९७५-सम्म राज गरेका थिए। सिक्किमको नवप्रगतिमा उनको उल्लेख्य योगदान रहेको थियो। महाराजकुमार हुँदादेखि आफ्नो राजकालसम्म उनकै विशेष पहलमा राज्यमा विद्यालय, अस्पताल, खाने पानी लगायत विशेष पूर्वाधारहरूको स्थापना शुरु गरिएको थियो। उनको यसै योगदानलाई स्मरण गर्दै उनको जन्म शतवार्षिकी आज भव्यतापूर्वक पालन गरियो।

About Author

Advertisement