गान्तोक। नेपाली साहित्य परिषद्ले वर्ष २०२२-को भानु पुरस्कारद्वारा अनुवादक के.एन. शर्मालाई विभुषित गर्ने भएको छ। यसरी नै नेपाली साहित्य परिषद्ले वर्ष २०२१-को भानु पुरस्कारले भारतीय नेपाली भाषाहरूका गौरव दिलकुमारी भण्डारीलाई विभुषित गर्ने भएको छ। उनको नामको घोषणा वर्ष २०२१-मै भएको थियो। तथापि वैश्विक महामारी कोविड १९-का कारण परिषद्ले भानु जयन्ती समारोह स्थगित गरेको थियो। यसैले भण्डारीलाई यस वर्ष उक्त पुरस्कारले विभुषित गरिने निर्णय लिइएको हो। आगामी १३ जुलाई २०२२-को दिन आयोजन गरिने २०८औं भानु जयन्ती समारोहको अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट भानु पुरस्कारले पुरस्कृत गरिने भएको छ। साहित्य परिषद्द्वारा भानु जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेका व्यक्तित्त्वहरूलाई सेवाश्री सम्मानले पनि विभूषित गरिने परम्परा रहेको छ। यस वर्ष सेवाश्री सम्मानद्वारा डा. उदय छेत्रीलाई भाषा सेवाश्री सम्मान, सन्तोष राई र डिल्लीप्रसाद अधिकारीलाई साहित्य सेवाश्री सम्मान, पूर्ण सुब्बालाई सङ्गीत सेवाश्री सम्मान, रुपा तामाङ र नारद अधिकारीलाई नाट्य सेवाश्री सम्मान, कमल मुखियालाई पत्रकारिता सेवाश्री सम्मान, दीपा राईलाई चित्रकारिता सेवाश्री सम्मान अनि कोमल गुरुङलाई नृत्य सेवाश्री सम्मानले सम्मानित गर्ने नेपाली साहित्य परिषद् सिक्किमले निर्णय लिएको छ।









