साहित्यकार असीत राईको ८४औं जन्म जयन्ती समारोह सम्पन्न

IMG-20241127-WA0263

८० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई सम्मान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारस्थित स्प्रिङडेल एकाडेमीमा‌ महानदी सिविटार वरिष्ठ नागरिक वेलफेयर सोसाइटी अनि हाम्रो दृष्टि अनलाईन न्यूज च्यानलको संयुक्त आयोजनामा साहित्यकार असीत राईको ८४औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ।‌ यसको साथै सिविटार चियाबारी क्षेत्रका ८० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ। भारतीय नेपाली साहित्यको महत्तर सदस्य रहेका साहित्यकार असीत राईको जन्म जयन्ती समारोहको अध्यक्षता महानदी ग्राम पञ्चायतको पूर्व पञ्चायत प्रधान एंव भूतपूर्व प्रधान अध्यापक जुध्द शमशेर छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एंव पूर्व प्रधान अध्यापक कुबीर प्रधान उपस्थित रहेका थिए।‌ त्यसरी नै विशिष्ट अतिथिहरुमा महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङ, पञ्चायत सदस्य राजीव तामाङ र ज्येष्ठ वरिष्ठ नागरिकहरु शमशेर छेत्री, जगनाथ छेत्री दुर्गाप्रसाद तामाङ उपस्थित रहेका थिए।‌ साहित्यकार असीत राईले साहित्य र समाजमा दिएका बहुमूल्य योगदानको लागि आफ्नै ठाउँले पनि केही गर्नुपर्छ र उनको नामलाई सदैव स्मरण गर्नुपर्छ भन्ने उद्देश्यका साथमा आयोजना गरिएको असीत राई जन्म जयन्ती कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट साहित्यकार असीत राईको तस्वीरमा धुप दीप प्रज्ज्वलन साथै खदार्पण र पुष्पोहार चढाएर श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा वरिष्ठ नागरिक वेलफेयर सोसाइटीको सल्लाहकार एवं स्प्रिङडेल एकाडेमी सिविटारको प्राचार्य शरणकुमार राईले स्वागत सम्भाषण राखेका थिए। उनले आफ्नो वक्तव्यमा असीत राईलाई हामीले सम्झना गर्दा उनको फोटो र पुस्तकहरु हेर्ने गर्दछौं तर उनको विचार, गहिराई र ज्ञान र दर्शनलाई बुझ्न हो भने उनको पुस्तकहरु अध्ययन गर्नु पर्ने बताएका छन्। कार्यक्रमलसई मौसम नेवारले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि एंव पत्रकार हनोक थापाले कार्यक्रमको उद्देश्य र औचित्यमसथि प्रकाश पार्नुको साथै साहित्यकार असीत राईको साहित्यिक योगदान विषयमा वक्तव्य राखेका थिए‌। उनले असीत राई हाम्रो आफ्नै ठाउँका साहित्यकार भएकोले साथै उनले साहित्य र समाजमा दिएका बहुमूल्य योगदानको लागि हामीले पनि केही गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्‌। उनले असीत राईको स्मरणमा सिविटारमा पुस्तकालय खोल्नु पर्ने र महानदीमा सालिग निर्माण गरिनु पर्ने बताएका छन्‌।‌ हनोक थापाले आफ्नो सम्बोधनमा यसपाली छोटो समयमा अचानक रुपमा कार्यक्रम आयोजना गरिएको र यो शुरुवात् रहेको बताउँदै आगामी दिनमा अलिक कार्यक्रम आयोजना गर्नु पर्ने र यसको लागि असीत राईको साहित्यिक योगदानको लागि सिविटार महानदी क्षेत्रलाई समेटेर संस्था नै गठन गरेर कार्य गर्नु पर्ने सुझाव दिएका छन्। उनले असीत राईको साहित्यिक कृतिहरू साथै महत्तर सदस्यता विषयमा बताएका छन्‌। कार्यक्रममा कवि उज्वल सेवा, विद्यार्थीहरु सुम्निमा राई र पारुमा राईले कविता पाठ गरेका थिए भने वरिष्ठ नागरिक राजु राईले‌ मादले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा‌ वरिष्ठ नागरिक वेलफेयर सोसाइटीको सचिव नारायण प्रधानले आफ्नो वक्तव्यमा महानदी सिविटार वरिष्ठ नागरिक वेलफेयर सोसाइटीले अहिलेसम्म गर्दै आईरहेको विभिन्न कार्यहरु विषयमा जानकारी गराएका छन्। उनले भाषा बाँचे जाति बाँच्छ र भाषालाई माया गर्नु पर्ने साथै भाषालाई सदैव प्रयोग गर्नलाई अध्ययन गर्नु पर्ने बताएका छन्‌। कार्यक्रममा उप प्रधान सोनिका तामाङले असीत राईले साहित्य र समाजमा ठूलो योगदान दिएको बताउँदै उनले आफ्नो जाति र भसषामाथि ठूलो योगदान दिएको बताएका छन्‌। त्यसरी नै पञ्चायत सदस्य राजीव तामाङले वरिष्ठ नागरिकहरु भावी को लागि मार्ग दर्शक हुन् भन्दै आफ्नोे तर्फबाट चाहिने सहयोग गर्न तयार रहेको बताएका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार कुबीर प्रधानले साहित्यकार असीत राईले साहित्य र समाजमा दिएका बहुमूल्य योगदानको कदर गर्नु पर्ने बताएका छन्‌। उनले असीत राईको साहित्यिक कृतिहरू र लेखन विषयमा जानकारी गराएका छन्। उनले आफ्नो वक्तव्यमा समाजलाई जसले मार्ग दर्शन गर्छन्, समाजमा भाषा, साहित्य, संस्कृति र अन्य क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान र सम्झना गर्नुपर्छ भनी बताएका छन्‌।‌ उनले जाति,भाषा, साहित्य, संस्कृति र कलाप्रति समर्पित व्यक्तिहरुलाई विस्मृतिको धूलोमा‌ विलिन हुनु दिनु हुँदैन अनि हराउन दिनु हुँदैन भनी बताएका छन्‌ उनले वरिष्ठ नागरिकहरु भावी पिँढीको ‌लागि महत्वपूर्ण दस्तावेजहरु हुन् र यसैको आधारमा भावी पिँढीले‌ इतिहास लेख्नेछन् भनी बताएका छन्। उनले असीत राईको साहित्यिक योगदानलाई लिएर स्मृति ग्रन्थ चाढै प्रकाशित हुन लागेको बताएका छन्‌।‌ कार्यक्रममा सभाध्यक्ष जुध्द शमशेर छेत्रीले आफ्नो वक्तव्यमा असीत राई साथी रहेको र सँगै पढेको उल्लेख गर्दै सानोमा सँगै स्कूल पढेको सम्झनाहरु गरेका छन्। उनले असीत राई सानैदेखि लेख्ने गरेको र लेख्नपट्टि लागेको पनि बताएका छन्‌। उनले असीत राईले सबैसित इज्जत र सम्मानले बोल्ने गरेको पनि बताएका छन्। असीत राईको जन्म २४ नोभेम्बर १९४० सालमा भएको थियो भने २९ मार्च २०१९ मा भएको थियो। यसै कार्यक्रममा स‌सिविटारका 80 वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरु क्रमैले शमशेर छेत्री (८७), जगनाथ छेत्री(८४), दुर्गाप्रसाद तामाङ(८०), जुध्द शमशेर छेत्री(८१), प्रेमलाल तामाङ (८२) र एसके प्रधान (85) लाई सम्मान जनाइएको थियो। सबैलाई खदार्पणसहित शल ओढाएर साथै स्मृति चिन्ह अतिथिहरुका बाहुलीबाट प्रदान गरेर सम्मान गरिएको छ। उक्त सम्मान कार्यक्रमको स्मृति चिन्हको प्रायोजन स्प्रिङडेल एकाडेमी स्कूल सिविटसरद्वारा गरिएको थियो भने शलहरु वरिष्ठ नागरिक वेलफेयर सोसाइटीले प्रायोजन गरेका थिए। सकार्यक्रममा धन्यवाद ज्ञापन नरेन प्रधानले राखेका थिए।

About Author

Advertisement