साहित्यकार असीत राईको स्मृति ग्रन्थ ‘स्मृतिमा असीत राई’ खरसाङमा लोकार्पित

IMG-20250526-WA0166

खरसाङ: भारतीय नेपाली साहित्यको पहिलो महत्तर सदस्य एंव साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकार असीत राईको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिमा असीत राई’ आज खरसाङमा लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता असीत राई स्मृति मञ्चको अध्यक्ष ऋषि राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा असीत राई स्मृति मञ्चको संरक्षिका शान्ति राई, वरिष्ठ साहित्यकार कृष्ण प्रधान, डा. आईबी थापा, नेपालका साहित्यकारहरु क्रमैले ऋषिराज बराल, डा. गोविन्दराज भट्टराई, प्रेमप्रकाश फलारी, आरबी राई, विन्ध्या सुब्बा, मदन ओझा, डा. गीता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट साहित्यकार असीत राईको प्रतिकृतिमा धूप द्वीप प्रज्वलन अनि माल्यार्पण गरेर कार्यक्रमको‌ शुरु गरिएको छ। कार्यक्रममा दिवंगत साहित्यकारहरुको स्मरणमा मौन धारण पनि गरियो। कार्यक्रममा स्वागत सम्भाषण असीत राई स्मृति साहित्यिक मञ्चको सचिव एंव सम्पादक दिपक ठटाल जलनले राखेका थिए। कार्यक्रममा साहित्यकार असीत राईको वृत्तचित्र पनि प्रदर्शनी गरिएको थियो। कार्यक्रममा आरबी राईले आफ्नो सम्बोधनमा असीत राईसित मिलेर एकसाथ धेरै कार्यहरु गरेको बताउँदै असीत राईको लोकप्रिय उपन्यास ‘नयाँ क्षितिजको खोज’ विषयमा विविध कुराहरु राखेका थिए। कार्यक्रममा नेपालका वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले वक्तव्य पनि राखेका थिए। यसै कार्यक्रममा साहित्यकार असीत राईको स्मृति ग्रन्थ ‘स्मृतिमा असीत राई’ सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र असीत राईकी पत्नी एंव संरक्षिका शान्ति राई आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त स्मृति ग्रन्थको समीक्षात्मक टिप्पणी प्राध्यापक मेघनाथ छेत्रीले राखेका थिए। उनले यो पुस्तक असीत राईमाथि शोध गर्नेहरुका लागि राम्रो सन्दर्भ ग्रन्थ हुने बताएका छन्। यसै कार्यक्रममा भानु छेत्रीलाई सम्मान पनि जनाइएको छ। कार्यक्रममा सम्मानित व्यक्तित्व भानु छेत्री, विशिष्ट अतिथि डा ऋषिराज बराल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा जीवन नामदुङ आदिले वक्तव्यमा एक सय चालिस करोड जनसंख्या भएको भारतमा असीत राई एकजना भारतीय नेपाली भाषी महत्तर सदस्य हुन् भनी बताएका छन्। उनले असीत राईले १९५९ सालदेखि लेख्न शुरु गरेको बताउँदै असीत राईले जम्मा ३२ वटा कृतिहरु लेखेको बताएका छन्। डा. नामदुङले असीत राईले आफ्नो जीवनकालमा जुन कार्य गरे त्यो महत्वपूर्ण रहेको बताएका छन्‌। भारतीय नेपाली साहित्यको साहित्यकार असीत राईको जन्म २४ नोभेम्बर १९४० मा महानदीदेखि केही पर जंगपाना चियाबारीमा भएको थियो भने उनको निधन २९ मार्च २०१९ मा भएको थियो। उनी साहित्य अकादमी नयाँ दिल्लीबाट महत्तर सदस्यता पाउने पहिलो अनि एक मात्र भारतीय नेपाली साहित्यकार हुन्। उनको लोकप्रिय उपन्यास ‘नयाँ क्षितिजको खोज’ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।

About Author

Advertisement