साहित्यकार अर्जुन पीयूष साहित्य प्रतिभा पुरस्कारले अलङ्कृत

IMG-20241020-WA0222

नाम्ची: नाम्ची जिल्लाको खोर्लोङस्थित कला साहित्य संस्थानले आइतवार बिकमत, खोर्लोङस्थित ग्राम प्रशासन केन्द्रको प्रेक्षागृहमा आफ्नो चौथो राज्यस्तरीय सम्मान सम्मेलन आयोजना गरेको छ। यस अवसरमा वरिष्ठ साहित्यकार तथा पत्रकार अर्जुन पीयूषलाई साहित्य प्रतिभा पुरस्कारद्वारा अलङ्कृत गरिएको छ। त्यसरी नै चित्रकार किशोर राई साम्पाङलाई उत्कृष्ट आवरण सृजना पुरस्कार प्रदान गरियो भने नाम्चीका नेपाली पुस्तकालय संरक्षक डा. मनोजकुमार राईलाई उत्कृष्ट पुस्तकालय पुरस्कार प्रदान गरियो। पुरस्कृत तीनजनै व्यक्तित्वलाई दोसल्ला, सम्मानपत्र, स्मृतिचिह्नसहित नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रममा साहित्य, कला, पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्‍याउने तीनकोरी अधिक स्रष्टाहरूलाई पनि अभिनन्दन जनाइयो। यस क्रममा कला साहित्य संस्थानद्वारा प्रकाशित सामयिक साहित्यिक सङ्कलनको चौथो अङ्क, साहित्यकार जयदीप सुब्बाकृत कविता सङ्ग्रह, एबी गुरुङ वसन्तकृत कविता सङ्ग्रह वसन्त विप्लव, लेखक हरिश्चन्द्र सापकोटाको पुस्तक, तबस्सुम परवीन अन्सारीकृत अङ्ग्रेजी कविता सङ्ग्रह हार्ट लाइक वाइल्ड फ्लावर र पूर्णिमा ठटालकृत गीति एल्बमको पनि लोकार्पण गरियो। कार्यक्रममा दक्षिण जिल्लामा दशौँण श्रेणीमा राई र लिम्बू भाषामा सर्वोच्च अङ्क हासिल गर्ने दुई विद्यार्थीलाई प्रशंसापत्रद्वारा सम्मान जनाइयो।
साहित्यकार प्रद्युम्न श्रेष्टले अध्यक्षता गरेको कार्यक्रममा शिक्षाविद् डा. हरिप्रसाद छेत्री मुख्य अतिथि रहेका थिए। यसैगरी कार्यक्रममा पर्यवेक्षकको भूमिका साहित्यकार तथा सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले निर्वाह गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यवक्षक सीपी शर्माले यस्तो भव्य कार्यक्रममा सम्मान जोकोहीले पाउन नसक्ने बताउँदै सम्मान निःस्वार्थ कर्मको फल रहेको उल्लेख गरे। “पुरस्कार पाउनु ठूलो कुरा होइन, तर पुरस्कार पाएर त्यस पुरस्कारको सम्मान राख्नु सजिलो कुरा होइन। सम्मानले स्रष्टामा जिम्मेवारी थपेको हुन्छ”-शर्माले भने। खोर्लोङमा भानु सालिक निर्माणको लागि आफूबाट हुन सक्ने सहयोग गर्ने वचन दिँदै उपस्थित सबैलाई पनि सहयोग गर्न अनुरोध गरे। मुख्य अतिथि डा. एचपी छेत्रीले आफ्नो संक्षिप्त सम्बोधनमा कला साहित्य संस्थानले ऐतिहासिक कार्यक्रम आयोजन गरेको जनाउँदै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
अध्यक्षीय सम्बोधनमा साहित्यकार प्रद्युम्न श्रेष्टले आवरण पुस्तकको आकर्षण पनि भएको कारण आवरण सृजना पुरस्कार राखेर आयोजक संस्थाले उल्लेखनीय कार्य गरेको बताउँदै अबउसो अभिनन्दनपत्रलाई हस्तलिखित गरे झन् सुनमा सुगन्ध थपिने सुझाउ दिए। उनले कला साहित्य संस्थानको यो कार्यक्रम राष्ट्रियस्तरको भएको उल्लेख गरे।
पुरस्कार प्रापक साहित्यकार अर्जुन पीयूषले जनसहभागितामूलक साहित्य अभियानको कारण कला साहित्य संस्थानले सफलतापूर्वक यस प्रकारको कार्यक्रम गर्न सकेको विचार प्रकट गरे। भविष्यमा पनि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन आउने पिँढ़ीलाई जिम्मेवारी हस्तान्तरण गर्न सुझाउ राखे। “आफ्नो साहित्यलाई अझ विकास गरेर लैजान विश्व साहित्य कतातिर लम्किरहेको छ, त्यसको गहन अध्ययन र अवलोकन गर्न जरुरी रहेको छ। नयाँ कुरा ठूलो समूहले मात्र गर्न सक्छ र यसमा युवाहरूलाई समावेश गर्नु समयको माग हो”-सम्मानित व्यक्तित्व पीयूषले भने।
स्वागत सम्बोधन राख्ने क्रममा आयोजक समितिका अध्यक्ष गोकुल राईले कला साहित्य संस्थानका उद्देश्यहरूबारे प्रकाश पारे। उनले कार्यक्रमलाई सफल तुल्याउन जनसहभागितामूलक साहित्य अभियानअन्तर्गत संस्थाका संरक्षक र युवाहरूको योगदानको खुलेर प्रशंसा गरे। कार्यक्रममा स्थानीय र अतिथि कवि-कवीयत्रीहरूले कविता वाचन गर्नुका साथै स्थानीय कलाकारहरूले गीत-नृत्य प्रस्तुत गरे। यस अवसरमा विभिन्न स्थानबाट आएका साहित्यकारगण, स्थानीय गाउँलेहरू आदिको उपस्थिति रहेको थियो। विदुर राई र सोमबहादुर राईले सञ्चालन गरेको कार्यक्रमलाई सफल तुल्याउन उपाध्यक्ष सरमान राई ‘रसिक’, महासचिव धन नीरव प्रधान, संयुक्त सचिव पेम नर्बु शेर्पा ‘ज्योति’, कोषाध्यक्ष प्रकाश राई, प्रचार सचिव जीवन राई ‘माङ्पा’, कार्यकारी सदस्य सुदीप बस्नेत, सुमन राई र अन्यले महत् योगदान पुर्‍याएका छन्।

About Author

Advertisement