साहित्यकार अम्बर सुब्बाकृत दुईवटा कृतिहरूको विमोचन

IMG-20240525-WA0260.jpg

सोनादा: वरिष्ठ साहित्यकार, कवि, अध्येता अम्बर सुब्बाका दुईवटा कृतिहरू ‘आहत अवधारणा’ अनि दार्जिलिङका चियाबारीहरूभित्रका मानिसहरूका जीवनशैली’ को विधिवत लोकार्पण सोनादाको शान्ति बजारस्थित कविकै निजी वासस्थानमा सम्पन्न गरिएको छ। यस समारोहमा सोनादा साहित्य संस्थानका उपाध्यक्षद्वय जेके राई, जइन्द्र जेनियम, साहित्यकार बुद्ध सङ्गम, साहित्यकार राजेन्द्र पासा, साहित्यकार एनबी तोया, साहित्यकार रामराज राई, साहित्यकार भीम क्षमित, समाजसेवक रबीन सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो। कवि अम्बर सुब्बाले यसभन्दा अघि आवर्त बिन्दु,अर्धवृत्त, दार्जिलिङका चिया र चियाबारी जस्ता स्तरीय कृतिहरू साहित्यमा दिइसकेका छन्। उनको दार्जिलिङका चियाबारी सम्बन्धित तक्निकी विषयलाई लिएर लेखिएको पुस्तक निक्कै महत्वपूर्ण छ।त्यसै क्रममा आज विमोचन भएको दार्जिलिङका चियाबारीहरूभित्रका मानिसहरूको जीवनशैली पुस्तकमा पनि यसै परिप्रेक्ष्यमा एक उल्लेखनीय पु्स्तक रहेको विचार उपस्थित वक्ताहरूले राखेका थिए। सोनादा साहित्य संस्थानका मूल सचिव नरेश कटुवालद्वारा सञ्चालन गरिएको उक्त पारिवारिक तौरको सौहार्दपूर्ण कार्यक्रममा साहित्यकार अम्बर सुब्बाले आफ्ना प्राम्भिक कविता लेखनकालका रोचक अनुभूतिहरू साझा गरेका थिए।दार्जीलिङका विभिन्न चियाबारीहरूमा महा प्रबन्धकको उच्च पदमा रहेर अवकाश ग्रहण गरेका कवि सुब्बाले दार्जीलिङका चियाबारीका विगत र वर्तमान स्थितिहरूबारे पनि गहन विचार प्रकट गरेका थिए। कवि सुब्बाका धर्म पत्नी कमला सुब्बाको न्यानो आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले कवि सुब्बाको निरन्तर काव्य साधना अनि चियाबारी साहित्य सम्बन्धित गहन अध्ययन तथा लेखन प्रशंसनीय अनि अनुकरणीय रहेको बताएका छन्।

About Author

Advertisement