सिलगढी: सालबारीस्थित प्रकाशन-वितरण संस्था बुक-आन्टको आयोजनामा आइतबार जूनको दिन बेस्टसेलर अङ्ग्रेजी उपन्यास ‘गोर्खाल्यान्ड डाइरिज’-माथि विमर्श कार्यक्रम आयोजित सम्पन्न भयो। डा. सत्यदीप एस. छेत्रीद्वारा लिखित सन् १९८०-को दशकमा सुवास घिसिङको नेतृत्वमा चलेको गोर्खाल्यान्ड आन्दोलनमाथि आधारित यो पुस्तक अङ्ग्रेजी भाषामा लेखिएको आन्दोलनसम्बन्धी पहिलो कृति मानिएको छ। पुस्तकको दोस्रो संस्करण अगावै बजारमा आइसकेको छ। कालेबुङका राजनीतिज्ञ एवं पूर्व विधायक ड. हर्कबहादुर छेत्री, सिलगढीका वरिष्ठ इतिहासकार-चिकित्सक डा. सोनाम बी वाङ्ग्लेय र लेखक स्वयं सामेल रहेको विमर्शमा चर्चित युवा कवि-फोटोग्राफर विनोद प्रधानले सहजकर्ताको भूमिका निर्वाह गरे।
‘गैर नेपालीभाषी लेखकहरूले गोर्खाल्यान्डमाथि बगुन्द्रो गैरआख्यान लेखिरहेका छन्। तर कसले पढ्ने ती पराया लाग्ने हाम्रो कथा? अब हामीले आफ्नो कथा आफै भन्ने दिन आएको छ। हामीले विश्वलाई हाम्रो कथा हाम्रै कण्ठमा सुनाउन थालिसकेका छौँ। नेपालीमा लेख्ने लेखक र अनुवादकहरूलाई म अपील गर्दछु – अब नेपाली साहित्यका प्रत्येक कृति विश्वले बुझ्ने भाषा अङ्ग्रेजीमा अनुवाद गर्ने अभियान थालौँ,’ उपन्यासकार डा. सत्यदीप एस छेत्रीले भनेl ‘दार्जीलिङलाई बिर्सने रोग लागेको छ’ भन्ने भनाइ उपन्यासमा दोहोरिएको भन्दै यस्तो ‘अल्पस्मृति भएको ठाउँ’-ले तपाइँले लेखेको कथा कसरी पढ़्लान्’ सहजकर्ता विनोद प्रधानले कड़ा प्रश्न सोधे। प्रत्युत्तरमा लेखकले भने, ‘मैले यही विषयमाथि गैरआख्यान पनि लेख्न सक्ने थिएँ तर लेखिनँ। किनभने कहिलेकाहीँ तथ्यहरूको विवरणले पाठकलाई बोर गर्नसक्छ। अनि मेरो यो उपन्यास सहज-सरल अङ्ग्रेजीमा छ ताकि नानीहरू र युवा विद्यार्थीहरूले पनि उनीहरूले नभोगेको हाम्रो आत्मनिर्णयको सङ्घर्षको कथा पढ़ेर सहजै जान्न पाउन्। हाम्रो दार्जीलिङले अब बिस्तारै आफ्नो कथा पढ़्ने र भन्ने दिन आएको छ।’

‘दार्जीलिङको राजनैतिक र साहित्यिक अवस्थान अङ्कण गर्न गोर्खाल्यान्ड डाइरिज उपन्यास कति सफल छ’ भन्ने प्रश्नको जवाबमा अध्येता बुद्धिजीवी डा. हर्कबहादुर छेत्रीले भने, ‘उपन्यासकार कन्टेन्टमा इमानदार देखिन्छन्। मैले आफ्नै राजनैतिक जीवनको प्रतिच्छाया समेत उनको उपन्यासको एउटा चरित्रमा भेटेँ। यो हामीले भोगेकै घटनाहरूको कथा हो त्यसैले मलाई लाग्छ हाम्रा पाठकले यो उपन्यासमा कतै न कतै आफूलाई पनि पाउनेछन्। उपन्यास पढ़्दै जाँदा सिङ्गै गोर्खाल्यान्ड आन्दोलनका घटनाक्रम एकपछि अर्को गर्दै उद्घाटित हुँदै जाँदो छ।’ इतिहास लेखन र इतिहास आधारित उपन्यास लेखनमाझ कस्तो पार्थक्यछ भन्ने सहजकर्ता प्रधानको प्रश्नको उत्तर दिँदै वरिष्ठ इतिहासकार डा. सोनाम बी वाङ्ग्येलले भने, ‘उपन्यास लेखन विशुद्ध इतिहास लेखनजस्तो होइन। उपन्यासमा लेखकले इतिहासतथ्यलाई उसको कल्पनासँग कलात्मक ब्लेन्डिङ गर्दछ। इतिहास लेख्दा ऐतिहासिक तथ्य, दस्तावेज र प्रमाणहरू अनिवार्य छन्। तर उपन्यास लेख्दा यसरी नै लेखिनु पर्छ भन्ने कुनै अकाट्य नियम छैन। तथापि, इतिहास आधारित उपन्यासमा प्रामाणिक तथ्यको प्रस्तुतिले कृतिलाई सत्यापित गर्दछ। गोर्खाल्यान्ड डाइरिजले ऐतिहासिक तथ्यको निर्दिष्ट सत्यापन गरेको छ।’
रसायनशास्त्रमा पीएचडी ड. सत्यदीप छेत्री सिलगढीमा जन्मिएका हुन् भने उनले स्कूले शिक्षा डन बस्को स्कूलमा लिएका हुन्। उनले उत्तरबङ्ग विश्वविद्यालयबाट उच्च शिक्षा ग्रहण गरेपछि गत २२ सालदेखि गान्तोकको एनबीबी सरकारी महाविद्यालयमा एसोसिएट प्रोफेसरको ओहोदामा रही पढ़ाइरहेका छन्। उनले नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरेको पुस्तक ‘कालोभारी’ सन् २०२१-मा प्रकाशित भएको छ। समस्त अङ्ग्रेजी लेखकहरूलाई संयुक्त मञ्चमा भेला गर्ने प्रयासतिर इङ्गित गर्दै बुक-आन्ट-का निर्देशक सूरज गुरुङले कार्यक्रमको लक्ष्यबारे प्रस्ट्याउँदै भने, ‘हामीसँग दार्जीलिङ-सिक्किम पाहाड़, सिलगढीसमतल एवं डुवर्सलगायत प्रशस्त अङ्ग्रेजीमा लेख्ने हाम्रै लेखकहरू जन्मिसकेका भए पनि उनीहरूमाझ विचार र कृति आदानप्रदानको साँघुको अभाव रहेको महसुस गरिएको छ। बुकआन्टले यी अङ्ग्रेजी सर्जकहरूमाझ आपसी विकासका लागि एउटा स्वस्थ बहस, अन्तर्क्रियाको मञ्च निर्माण गर्न सहजकर्ताको भूमिका लिन खोजिरहेको हो। यो विमर्श कार्यक्रम त्यही दिशाको एक कदम हो।’
कार्यक्रममा युवा शोधकर्ता रोयल खातीद्वारा लिखित उनको पहिलो पुस्तक ‘मिस्टी माउन्टेन : इङ्ग्लिस अथर्स फ्रम दार्जीलिङ’ पनि विमोचित भएको छ। एसिस्टेन्ट प्रोफेसर डा. अनिरूद्र गुरुङले वाग्येकार गोपाल योञ्जनको जातीय भावनाको गीत प्रस्तुत गरे। फुर्बा लामाद्वारा निर्देशित इन्द्रबहादुर राईको कथा ‘जार – भएकै एउटा कथा’माथि आधारित नेपाली फिचर फिल्म ‘जार’-को ट्रेलर पनि कार्यक्रम अवधि प्रदर्शित गरिएको थियो। अमेरिकामा रही कविता र रचनात्मक लेखनमाथि पीएचडी गरिरहेका एवं कवितामा अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका डुवर्स निवासी रोहण छेत्री कार्यक्रमका मुख्य अतिथि थिए भने नेपाल कान्तिपुरका वरिष्ठ पत्रकार पर्वत पोर्तेल, डा. मोहन पी दाहाल, भविलाल लामिछाने, डा. राजकुमारी दाहाल, उदयन राई, डा. महेश प्रधान, नैनसिंह योञ्जन, मनोज गिरी, सृजना सुब्बा, डा. अनिरूद्र गुरुङ, आशुतोष सिंह, फुर्बा लामा, जीतबहादुर सुनार, अनुराधा शर्मा, राहुल सम्भवी सिन्हा, रूबेन गुरुङ, प्रदीप शेर्पा, छेपाल शेर्पा, अनुपा भण्डारी, सुमन तोलाङ्गी आदि अतिथिको रूपमा उपस्थित थिए।









