गान्तोक: राज्यमा कोरोनाभाइरसको नयाँ मामिलामा दैनन्दिन पुनः वृद्धि भएको कुरालाई ध्यानमा राखेर राज्यको गृह विभागले आज एक आदेश जारी गर्दै सार्वजनिक स्थलहरूमा मास्कको प्रयोग अनिवार्य गरेको छ। यो आदेश तत्कालै लागू गरेको विभागले प्रष्ट पारेको छ। जारी आदेशअनुसार, अबोपरान्त सार्वजनिक स्थलहरूमा, कार्यस्थलमा अनि यातायात गर्दा मास्कको प्रयोग गर्नुपर्नेछ। योसँगै पसल, मल, कार्यालय, वाणिज्यिक संस्थानहरूमा ६ फीटको सामाजिक दूरी पालन गर्नुपर्नेछ। मानिसहरू भेला हुने कुनैपनि ठाउँको प्रवेशमा ह्याण्ड सेनिटाइजर आवश्यक रूपमा राखिनुपर्नेछ। मास्क लगाउनुपर्ने, सर-सफाई अनि सामाजिक दूरीबारे जिल्ला प्राधिकरणले आवश्यक पहल गर्नेछ। कसैले पनि यो आदेश उल्लंघन गरे आपदा प्रबन्धन ऐन २००५-अनुसार दण्ड दिइनेछ।









