गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ अखिल भारतीय तामाङ बौद्ध संघ, केन्द्रीय समितिको ३८औँ वार्षिक महासभामा सहभागी हुन पाउँदा अत्यन्तै खुशी भए। उनले सामाजिक संजालमा यसबारे खुलासा गर्दै आफ्नो सम्बोधनमा भने कि यो महासभा केवल वार्षिक कार्यक्रम मात्र होइन, बरु समुदायको इतिहास, मूल्य–मान्यता र सामूहिक यात्राको उत्सव हो। उनले अझ थपे- तामाङ समुदायले करुणा, सद्भाव र सहअस्तित्वजस्ता शाश्वत बौद्ध मूल्यद्वारा मार्गदर्शित हुँदै हाम्रो राष्ट्रको सामाजिक, सांस्कृतिक र आध्यात्मिक संरचनामा महत्वपूर्ण योगदान पुर्याएको छ।

मुख्यमन्त्रीले संजालमा संघले बौद्ध धर्मको प्रवर्द्धन, तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षण, साथै देशभर एकता मजबुत बनाउन गरेको प्रयास साँच्चिकै प्रशंसनीय रहेको उल्लेख गरे। साथै “फ्याफुलो” पत्रिकाको प्रकाशन इतिहास संरक्षण गर्न र भावी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न सहयोगी हुने अर्थपूर्ण पहल भएको बताए। युवाहरू र कलाकारहरूको उत्साहपूर्ण सहभागिताले परम्परा र प्रगतिमा आधारित उज्यालो भविष्यको संकेत दिएको छ भने।

अन्तमा मुख्यमन्त्रीले महासभा सफल बनाउन अथक परिश्रम गर्ने आयोजक, विद्वान, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे अनि निमन्त्रणाका लागि आयोजकहरूलाई धन्यवाद दिँदै अखिल भारतीय तामाङ बौद्ध संघको निरन्तर प्रगति र सफलताको कामना गरे।










