गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले सामसङ तामाङको मामिला मुख्यमन्त्री प्रेमसिंह तामाङ समक्ष उठाएको छ। संघको आगामी स्थापना दिवस समारोहको निम्ति मुख्यमन्त्रीलाई निमन्त्रणा दिन आज मिन्तोकगाङ गएको एक प्रतिनिधि टोलीले उक्त मुद्दा उठाएको बताइएको छ।राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफमा संघका अध्यक्ष नारायण खतिवडाले मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग आज भएको भेटको क्रममा सामसङ तामाङको मामिला उठाएको जानकारी गराए। मुख्यमन्त्रीले सामसङ तामाङ विरुद्ध कानुनी कारबाहीको आश्वासन दिॅंदै यस सम्बन्धमा सिक्किमका पुलिस महानिदेशकलाई निर्देशन पनि दिइसकेको जानकारी गराएको उनले बताए। अध्यक्षले सामसङ तामाङको बयान सामाजिक सञ्जालहरूमा आउन थालेपछि ३ फरवरीको दिन सामसङ विरुद्ध एफआईआर दर्ता भएको बताए। उनले संघको सरकार र कानुनमाथि पूर्ण विश्वास रहेको र सामसङ विरुद्ध कारबाही हुनेछ भन्ने कुरामा विश्वस्त रहेको बताए। उनले यस मामिलामा संघ पुलिसको लगातार सम्पर्कमा रहेको र कारबाहीबारे जानकारी लिइरहेको बताए।एफआईआर दर्ता भएपछि सिक्किम पुलिसको एक टोली दार्जिलिङ गएर कारबाही शुरू गरिसकेको पुलिस प्रशासनले जानकारी गराएको उनले बताए। उनले आरोपी व्यक्ति विरुद्ध कानुन बमोजिम कारबाही भएन भने खस समुदाय सडकमा उत्रिन पनि तयार रहेको बताए।उनले दार्जिलिङको खस प्रतिनिधिहरूसॅंग उनको कुराकानी भएको र दार्जिलिङमा पनि सामसङ विरुद्ध पुलिसमा शिकायत गरिएको अवगत गराए। अध्यक्ष खतिवडाले यस मामिलामा राज्यका विभिन्न संघ संस्थाहरूलाई अगाडि आएर समर्थन एवं ऐक्यबद्धता प्रकट गरिदिन आह्वान गरे। उनले राज्यका कतिपय संघहरूबाट समर्थन पनि प्राप्त भइरहेको जानकारी गराए।









