साउदी अरबले बनाउँदैछ विश्वकै अग्लो भवन

saudi-news

बुर्ज खलिफाभन्दा कति अग्लो हुन्छ, कति लाग्दैछ खर्च?

रियाद: साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) सन् २०३० सम्ममा देशमा ठूलो परिवर्तन ल्याउने लक्ष्यका साथ अघि बढिरहेका छन्। यसलाई ‘भिजन २०३०’ नाम दिइएको छ। यो रणनीतिका माध्यमबाट ठूला आयोजनाहरूमार्फत तेलमा आधारित अर्थतन्त्रमा विविधता ल्याउने, सहरहरूको रूपान्तरण गर्ने र आधुनिकीकरण गर्ने काम भइरहेको छ।
​यसै भिजनको एक प्रमुख आयोजना ‘जेद्दा टावर’ हो। जेद्दामा निर्माणाधीन यो भवन ३,२८१ फिटभन्दा अग्लो हुनेछ। निर्माण सम्पन्न भएपछि यसले दुबईको बुर्ज खलिफाको रेकर्ड तोड्दै विश्वकै सबैभन्दा अग्लो भवनको पहिचान बनाउनेछ।
​बुर्ज खलिफाभन्दा ५६४ फिट अग्लो
​जेद्दा टावर निर्माण सकिएपछि बुर्ज खलिफाभन्दा कम्तीमा ५६४ फिट अग्लो हुनेछ। यसलाई एड्रियन स्मिथ गॉर्डन गिल आर्किटेक्चरले डिजाइन गरेका हुन्। यो गगनचुम्बी भवन अगस्ट २०२८ मा आधिकारिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। हालसम्म यसको उचाइ १,४९० फिट पुगिसकेको छ भने ११३ तला निर्माण भइसकेका छन्।
​केही समय रोकिएको थियो काम
​जेद्दा टावरको निर्माण प्रक्रियामा विगतमा केही उतारचढाव आएका थिए। राजनीतिक तथा वित्तीय कठिनाइका कारण केही समयका लागि निर्माण कार्य रोकिएको थियो। तर, निर्माण ठेकेदार ‘साउदी बिनलादिन ग्रुप’ले काम पुनः सुरु गराउन महत्त्वपूर्ण भूमिका खेल्यो। अहिले निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।
​यस टावरको जमिनबाट २,१४० फिट उचाइमा ९८ फिट व्यास भएको एउटा ‘स्काई टेरेस अब्जर्भेसन प्लेटफर्म’ रहनेछ। यो संरचना बनाउन ८८,००० टन स्टिल प्रयोग हुने अनुमान छ। १६० भन्दा बढी तला रहने यो बहुउपयोगी कम्प्लेक्समा आवास, कार्यालय, विलासी होटल र रिटेल स्पेसहरू रहनेछन्।
​खर्च कति लाग्दैछ?
​यो टावर २० अर्ब अमेरिकी डलरको ‘जेद्दा इकोनोमिक सिटी’ विकास आयोजनाको मुख्य केन्द्रविन्दु हो। १.२ अर्बदेखि २.७ अर्ब अमेरिकी डलर अनुमानित लागत रहेको यो टावरले साउदी अरबको महत्त्वाकांक्षाको प्रतीकका रूपमा पहिचान बनाउनेछ।
​तटीय क्षेत्रको मौसम, विशेष गरी तीव्र हावा र तापक्रमको सामना गर्न टावरको तल्लो भाग (फुटप्रिन्ट) एरोडाइनामिक त्रिकोणीय आकारको बनाइएको छ, जसले भवनको भार कम गर्न र उचाइमा स्थिरता कायम राख्न मद्दत पुर्‍याउँछ।

About Author

Advertisement