दार्जिलिङ: साउथफिल्ड (पूर्व लोरेटो कलेज), दार्जिलिङकी शिक्षा विभागकी शिक्षिका डा. प्रतिष्ठा गुरुङले डक्टर अफ् फिलोसोफी (पीएचडी) उपाधि प्राप्त गरेकी छन्। उनले कूचबिहार पञ्चानन बर्मा विश्वविद्यालयमा सफलतापूर्वक अन्तिम भाइवाको बचाव गरेपछि यो उपाधि प्राप्त गरेकी हुन्।
उनको शोधको शीर्षक “पश्चिम बङ्गालका पहाडी क्षेत्रहरूमा उच्च शिक्षामा महिलाहरूको पहुँच, सहभागिता र सफलता” रहेको छ। यो शोध डा. सुनन्दिता भोमिक (शिक्षा विभाग, काेचबिहार पञ्चानन बर्मा विश्वविद्यालय) को कुशल र सम्मानित निर्देशनमा सम्पन्न भएको थियो। डा. गुरुङले दार्जिलिङको सेन्ट टेरेसाको स्कूलबाट स्कूली शिक्षा, लोरेटो कलेजबाट स्नातक तहको अध्ययन, रामकृष्ण बी.टी. कलेजबाट ब्याचलर अफ एजुकेसन (बीएड) र विश्वभारती विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हाँसिल गरेकी थिइन्। उनी हाल साउथफिल्ड कलेजको शिक्षा विभागमा कार्यरत छन्।
शिक्षा क्षेत्रमा उनको योगदान उल्लेखनीय छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नलहरूमा विभिन्न पुस्तकहरू र शोध लेखहरू प्रकाशित गरेकी छन्। उपाधि प्राप्त गर्दै डा. गुरुङले आफ्ना सम्मानित सुपरवाइजर डा. सुनन्दिता भोमिक प्रति गहिरो आभार व्यक्त गरेकी। उनको असाधारण मार्गदर्शन, अन्तर्दृष्टिपूर्ण सुझाव, निरन्तर प्रोत्साहन र अटल शैक्षिक सहयोगले नै यो शोध कार्य सफल भएको उनले बताएकी छन्। उनको मेन्टोरशिप, विद्वत्तापूर्ण कठोर र प्रेरणादायी नेतृत्व यस उपलब्धिको मुख्य आधार रहेको छ। यसैगरी, उनले आफ्ना पिता सेमन गुरुङ, माता मिनु गुरुङ, जेठी दिदी सुष्मा गुरुङ तथा सम्पूर्ण परिवारका सदस्यहरू, मित्रहरू र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेकी छन्। उनीहरूको निरन्तर साथ, प्रोत्साहन र सहयोगले नै आफ्नो सम्पूर्ण शैक्षिक यात्रा सफल भएको उनले उल्लेख गरे।
यो उपलब्धिले पहाडी क्षेत्रका महिलाहरूको उच्च शिक्षासम्बन्धी अध्ययनलाई थप बल पुर्याउने विश्वास लिइएको छ। डा. प्रतिष्ठा गुरुङको यो सफलताले दार्जिलिङ तथा समग्र पहाडी क्षेत्रको शैक्षिक क्षेत्रमा गौरव थपेको छ।










