गान्तोकः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा ले केन्द्रिय कपडा राज्यमन्त्री पवित्रा मार्गेरितालाई भेटेर राज्यमा नेशनल इन्स्टिट्यूट अफ फेसन टेक्नोलोजी (एनआईएफटी) स्थापनाको औपचारिक माग गरेका छन्।
सांसद सुब्बाले आफ्नो निवासमा आयोजित बैठकमा सिक्किमको सांस्कृतिक सम्पदा, कला, डिजाइन र हस्तशिल्प परम्पराबारे जानकारी दिएका थिए। उनले राज्यको सानो भूगोल र संवेदनशील पारिस्थितिकीका कारण भारी उद्योगको विकल्पमा फेशन, कपडा र डिजाइन क्षेत्र दिगो र रोजगारमुखी भएको औँल्याए।
सांसद सुब्बाका अनुसार प्रस्तावित एनआईएफटी क्याम्पसले स्थानीय युवाको सीप विकास, परम्परागत हस्तशिल्पको आधुनिकीकरण र दिगो जीविकोपार्जनका अवसर सिर्जनामा मद्दत गर्नेछ। यसले स्थानीय प्रतिभालाई राष्ट्रिय र विश्वव्यापी बजारसँग जोड्दै सिक्किमको अद्वितीय कपडा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
केन्द्रिय राज्यमन्त्री मार्गेरिताले सांसद सुब्बाको माग धैर्यपूर्वक सुनेको विज्ञप्तिमा उल्लेख छ।








