कोलकाता: पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) का सांसद राजू बिष्टले आफूलाई पार्टीको प्रदेश उपाध्यक्षको जिम्मेवारी दिएकोमा प्रदेश अध्यक्ष शमिक भट्टाचार्यसहित पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बिष्टले पार्टी नेतृत्वले आफूमाथि देखाएको विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै पश्चिम बंगालभरिका पार्टी कार्यकर्ता, नेता तथा शुभेच्छुकसँग सहकार्य गरेर संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले तल्लो तहसम्म सुशासन र विकासको पहुँच विस्तार गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘विकसित भारत’को दृष्टिकोणलाई साकार पार्न पार्टीका नेता–कार्यकर्तासँग मिलेर काम गर्ने उनको भनाइ छ।
सांसद बिष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा विकासका अवसरलाई समाजको अन्तिम व्यक्ति र अन्तिम गाउँसम्म पुर्याउने, युवाका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने र पश्चिम बंगालको संस्कृति तथा पहिचानको संरक्षण एवं सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारीसँगै बिष्टले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट निरन्तर सहयोग, मार्गदर्शन र समर्थनको अपेक्षा गरेका छन्। उनले आगामी दिनमा सामूहिक सहकार्यबाट पार्टी संगठनलाई थप प्रभावकारी बनाउँदै जनतासँग जोडिने कामलाई प्राथमिकता दिने संकेत गरेका छन्।





