सिलगढी/दार्जिलिङ: दार्जिलिङ संसदीय क्षेत्रका लोकसभा सदस्य (सांसद) राजु विष्टले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव एवं पश्चिम बङ्गाल प्रभारी सुनिल बंसललाई आफ्नो क्षेत्रमा भव्य स्वागत गर्नुभएको छ। सांसद विष्टले आफ्नो सामाजिक सञ्जालमार्फत यस भ्रमणको जानकारी गराउनुभएको हो।
केन्द्रमा माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकारले सफलताका साथ १२ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजना भइरहेका विभिन्न विशेष कार्यक्रमहरूमा सहभागी हुन राष्ट्रिय महासचिव बंसल यस क्षेत्रमा आउनुभएको हो।
भ्रमण र कार्यक्रमबारे उल्लेख गर्दै सांसद राजु विष्टले भन्नुभएको छ, “माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा केन्द्र सरकारको १२ वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवहरूमा सामेल हुन आउनुभएका राष्ट्रिय महासचिव सुनिल बंसलज्यूको उपस्थिति ज्यूँदो जाग्दो उदाहरण बनेको छ। उहाँको गरिमामय उपस्थितिले यस क्षेत्रका प्रत्येक भाजपा कार्यकर्तामा नयाँ ऊर्जा र उत्साहको सञ्चार गराएको छ।”
भाजपा सरकारका ऐतिहासिक १२ वर्षका उपलब्धिहरूलाई जनतामाझ पुर्याउन आयोजना गरिएका यी कार्यक्रमहरूमा बंसलको आगमनलाई यस क्षेत्रका पार्टी कार्यकर्ताहरूले निकै महत्त्वका साथ हेरेका छन्।









