सलेशियन मोडल युनाइटेड नेशन (एसएमयुएन) २०२३ आजदेखि शुरु

00-1-IMG-20230322-WA0193

आत्मविश्वासले जीवनलाई फाइदा दिन्छ: अनित थापा

दार्जीलिङ: सलेशियन कलेज अनि जीटीएको सहकार्यमा सम्पन्न हुने सलेशियन मोडल युनाइटेड नेशन (एसएमयुएन) २०२३ आजदेखि शुरु भएको छ। यो कार्यक्रम आउँदो २५ मार्च सम्म हुनेछ। आज कार्यक्रमको मुख्य अतिथिको आसनबाट बोल्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले भने, ‘एक व्यक्तिले अर्को व्यक्तिलाई कसरी हेर्छ त्यो हेर्ने मानिसको धारणा माथि भर पर्छ। हिजोसम्म अनित थापालाई हेर्ने धारणा अनि आजको धारणामा फरक आएको छ।  पहाडमा व्यवहारिक राजनीति चाहिन्छ अनि म त्यस्तै राजनीति पहाडमा स्थापना गर्छु भनेर राजनीतिमा निस्केको व्यक्ति हुँl’

पहाडको खस्किँदो हालतबारे चर्चा गर्दै उनले भने, ‘हाम्रो पहाडलाई बन्दको राजनीतिले खतम पार्यो। हाम्रो यही पहाडको स्कूल अनि कलेज हो जहाँ विदेशका राजा-रानीसम्म अध्यापन गर्नु आउँथे। तर बन्दको राजनीतिको कारण यहाँको शैक्षिक संस्थाहरू सुक्न थालेको छ। शिक्षाको केन्द्र पलायन भएर सिलगढी पुगेको छ। हाम्रो कारणले नै शैक्षिक पलायन आएको होl’

‘म पहाडलाई शान्त राख्नु खोजिरहेको छु। यो शान्त वातावरणको फाइदा उठाउनु पर्छ’, उनले भने, ‘विद्यार्थीहरूले नम्बर अथवा मार्क्सको पछि नलागेर आत्मविश्वास बढाउनु तर्फ लाग्नुहोस्l यही आत्मविश्वासले जीवनलाई फाइदा दिन्छ। म आज त्यही आत्मविश्वासको कारण पहाडलाई नेतृत्व दिनसकिरहेको छुl’ उनले विद्यार्थीलाई सफलताको मन्त्र दिँदै भने, ‘व्यक्तिले आफ्नो मुख्य कुरा बलियो राख्यो भने गन्तव्य पुग्नु सजिलै सकिन्छ। यदि पुग्नु सकिएन भने दोष आफ्नै हो। पुग्नु नसक्दा हामी गुनासो गर्छौ। गुनासो गर्नु सजिलो छ, तर आफ्नो कोरलाई बचाई राख्नु गार्हो हुन्छl’

आजको कार्यक्रममा सभासद जीटीए उपाध्यक्ष राजेश चौहान, अनोश थापाको विशेष उपस्थिति रहेको थियो। कलेजका प्रिन्सिपल फादर जर्ज, रेक्टर, फादर डा. टोनी अगस्टिनले स्वागत जनाएका थिए। कलेजका विद्यार्थीहरूले अतिथिहरुलाई सांगीतिक कार्यक्रमद्वारा स्वागत गरे। मोडल युनाइटेड नेशन कार्यक्रम पहाडमा पहिलोपल्ट सम्पन्न भइरहेको छ।

About Author

Advertisement