सर्जक मन्दीप लामालाई चिया कविता पुरस्कार प्रदान गरिने

IMG-20250429-WA0310

गान्तोक: चिया कविता सिक्किमले वर्ष २०२५-को चिया कविता पुरस्कारको घोषणा गरेको छ। प्रसिद्ध लेखक, नाटककार, गीतकार, अनुवादक एवं सङ्गीतकार मन्दीप लामालाई पुरस्कृत गर्ने निर्णय लिएको हो। आज गान्तोकमा साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको चिया कविता सिक्किमको बैठकमा सर्वसम्मतिले उनको नाममा मोहर लगाएको छ। आगामी २१ मई २०२५-को दिन विश्व चिया दिवसको अवसरमा गान्तोकको रचना बुक्समा आयोजन गरिने एक विशेष समारोहमा लामालाई उक्त पुरस्कारले अलङकरण गरिने भएको छ। वर्ष १९७० र ८०-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवं सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका थिए। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तकनिकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्। नाट्य लेखन एवं निर्देशनसँगै मन्दीप एक कुशल सङ्गीतकारको रूपमा पनि चिनिन्छन्। गान्तोकको डेभलपमेन्ट एरिया निवासी बहुप्रतिभाका धनी लामाको नाट्य, साहित्य, कला एवं सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदानको मूल्याङ्कन एवं कदर गर्दै चिया पुरस्कारद्वारा विभुषित गरिने निर्णय लिइएको हो। उनलाई नगदराशि, स्मृतिचिन्ह र प्रशस्तिपत्रद्वारा पुरस्कृत गरिनेछ। विश्व चिया दिवसको अवसरमा चिया विषयबारे इलाम, नेपालका चिया विशेषज्ञ आरसी नेपालले चिया वार्ता प्रस्तुत गर्ने छन् भने भारत र नेपालका स्थापित कविहरूको भव्य उपस्थितिमा कविता सङ्गम आयोजन गरिने सभाले निर्णय लिएको छ।

About Author

Advertisement