खरसाङ: समाजसेवी विक्रम राईले रञ्जुभेल्ली निम्न उच्च विद्यालयको भ्रमण गरेका छन्। उक्त भ्रमणको क्रममा उनले विद्यार्थी एवं शिक्षकहरूसित अन्तर्कियात्मक कार्यक्रम पनि गरे भने विद्यार्थी एवं शिक्षकहरूलाई मातृभाषाप्रति सचेत हुनुपर्ने आह्वान पनि गरे।
राईले विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफ्नो मातृभाषा अर्थात् नेपाली भाषालाई सबैले माया गर्नुपर्ने तथा नेपाली भाषाको पनि प्रयोग गर्नुपर्ने बताए। यही क्रममा राईले नेपाली भाषामा अब्बल अङ्क लिएर उत्तीर्ण हुने प्रत्येक कक्षाका विद्यार्थीहरूलाई उपहार दिन भनी विद्यालयलाई २० हजार पनि प्रदान गरे। उक्त रकमले नेपालीमा अब्बल अकं ल्याउने विद्यार्थीहरूलाई उनीहरूको आवश्यकता अनुसारको सामग्री किनेर उपहारस्वरूप प्रदान गरिदिने विद्यालयपक्षलाई राईले अपील गरे। यसबाहेक भविष्यमा पनि विद्यालय अनि विद्यार्थीहरूलाई आफ्नो तर्फबाट गर्म सक्ने सहयोग पुराउने पनि उनले वचन दिए। रञ्जुभेल्ली विद्यालयमा उनलाई विद्यालयका शिक्षक-शिक्षिका एवं विद्यार्थीहरूले हर्षोल्लासको साथमा स्वागत जनाएका थिए। विद्यालयको पक्षमा रञ्जुभेल्ली प्राथमिक पाठशालाका प्रधान शिक्षिका शीला छेत्री अनि रञ्जुभेल्ली निम्न उच्च विद्यालयका शिक्षक प्रभारी शरण गुरूङले धन्यवाद ज्ञापन गरे।










