राजगञ्ज: चुनाभट्टीका समाजसेवी जनाब अली सामाजिक कार्यको लागि प्रख्यात छन्। आफुले सक्दो सहयोग गर्न उनी पछि हटदैनन्। यस्तैमा फुलबारीको असहाय गरीब तीन भाइको सहयोग हेतु उनी अघि आएका छन्। तिनले आज फुलबारीको तीनजना असहाय भाइहरूको लागि एक महिनाको खाद्य सामग्री, न्यानो लुगाफाटा लगायत केही आर्थिक सहयोग प्रदान गरे। ज्ञात रहोस लगभग ६ महिना अघि सिलगढी संलग्न फुलबारी क्यानल रोडमा सडक दुर्घटनामा परेर फुलबारी पूर्व धनतला निवासी प्रफुल्ल घोष र मनिन्द्र घोष गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनापछि केही आर्थिक सहयोग पाएर तिनीहरूको उपचार गरे तापनि हाल आर्थिक अभावले गर्दा तिनीहरूले उपचार गर्न सकेका बताइएको छ। यसको साथै जर्जर अवस्थामा रहेको एउटा सानो घरमा ती तीन भाइले निक्कै कष्टकर जीवन बिताइरहेका छन्। एक समयको भोजन समेत जुटाउन तिनीहरू असमर्थ छन्। यस्तो परिस्थितिमा तिनीहरूले सबैसित सहयोगको अपील गरेका थिए भने हिजो टिस्टा टाइम्स को माध्यमद्वारा तिनीहरूको खबर प्रसारण गरेपछि आज समाजसेवी जनाब अली तिनीहरूको सहयोगको लागि अघि आएका छन्। अर्कोतिर, समाजसेवी जनाब अलीले बताएअनुसार गत राति खबरको माध्यमद्वारा तिनीहरूबारे थाहा पाएपछि आज तिनीहरूको घरमा पुगेर खाद्य सामग्री, न्यानो लुगाफाटा लगायत केही सहयोग राशि प्रदान गरे। आगामी दिनमा पनि उक्त परिवारलाई हर प्रकारको सहयोग गर्ने तिनले बताए।










