सोनादा: रंगबुल धोतरीय रङ्गमुक समष्टि अधीनस्थ रङ्गमुक र सिडर्सको विभिन्न स्थानहरु सभासद राजेश चौहानले भ्रमण गरी जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। उनले स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै सचेत जनताको मतद्वारा नै आफू सभासद भएको अनि जीटीएको डिप्टी चेयरम्यान जस्तो सम्मानजनक पदमा आसिन गराएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापालाई पनि धन्यवाद दिएका छन्। उनले यस्तो सम्मानजनक पदमा राखेर अनित थापाले सम्पूर्ण समष्टिलाई नै सम्मान दिएको हो भन्दै उनले सम्बोधनको क्रममा आजसम्म जे जस्तो भए तापनि आगामी दिनहरूमा कुनै पार्टी नछुट्टाईकन एक सूत्रमा बाँधिएर काम गर्ने आह्वान पनि गरेका छन्। चौहानले चियाबारीका श्रमिकहरूको हितार्थ विगतका दिनहरुमा काम गरेको अनि आगामी दिनहरुमा पनि श्रमिकहरूको हितमा काम गरिरहने प्रतिबद्धता जाहेर गर्दै यी क्षेत्रहरुमा आगामी दिनहरुमा सुख र समृद्धिको निम्ति आफूले सक्दो सहयोग गर्ने आश्वासन दिँदै यस क्षेत्रमा एकता, अखण्डता अनि शान्ति कायम राखेर अघि बढ्ने आह्वान गरे।
अप्पर सिडर्समा आयोजित धन्यवाद कार्यक्रममा उपस्थित गाउँका वृद्ध वृद्धालाई सभासद राजेश चौहानले खदा लगाएर धन्यवाद दिए। कार्यक्रममा आयोजकवर्गले सभासद राजेश चौहानलाई जातीय टोपी पहिर्याएर बधाई तथा शुभकामना दिएका थिए।कार्यक्रमलाई सम्बोधनको क्रममा यहाँका वासिन्दाहरुले विगतमा चिया श्रमिक आन्दोलनमा अस्त व्यस्त रहेको समय चियाबारीको श्रमिकसँगसँगै रहेर सहयोग गरेको यथार्थ कुराहरुलाई पनि उजार गरेको बताए। विगतमा कोभिड महामारीको समयमा पनि राजेश चौहानले यहाँका चिया श्रमिकहरुलाई सक्दो सहयोग गरेको कुरा पनि वक्ताहरुले राखे। आफ्नो सम्बोधनमा राजेश चौहानले विगतमा पार्टिले धेरै चुनावहरु हार्दा पनि हामी आतिएनौ अनि अहिले आएर चुनाव जितेर दार्जीलिङको सत्तामा पुग्दा पनि हामी मातिएका छैनौँ अनि मात्तिनु पनि हुँदैन भन्दै सबै सबैलाई धन्यवाद दिएका छन्।








