खरसाङ: खरसाङ अम्बटे कालीधुरा कोठीपाखा निवासी निरुता छेत्रीको भान्साघर गत १४ मईको दिन जलेर पूर्ण रूपले नष्ट भएको थियो। त्यसैले क्षेत्रीय सभासद कल्पना प्रधानले निरूता छेत्रीको आगोले क्षतिग्रस्त भएको घरको स्थलगत भ्रमण गरिन्। सभासद कल्पना प्रधानले पीडित परिवारलाई क्षतिग्रस्त भएको भान्साघर निर्माण गरिदिने वचन पनि दिइन्। पीडित निरुता छेत्रीले गत आइतबार आफु अस्वस्थ भएर सुतिरहेको समय लगभग ३ बजेतिर दिउँसो आगो लागेको बताइन्। गाउँलेहरूको साहारामा आगोलाई काबु पाउन सफल भए पनि भान्साघरमा भएको सर-सामान पूर्ण रूपले नष्ट भएको उनले बताइन्। आगो लागेको घटनाको जानकारी पाउन साथ अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले अग्नि पीडितको घरमा राशन साथै भाँडाकुँडा दिएर सहयोग गरेको साथै अम्बटे चियाबारी प्रबन्धकसँग सम्पर्क गरी पीडित परिवारको भान्सा घर निमार्ण कार्य शुरू भइसकेको र बगान पक्षबाट पिडित निरुता छेत्रीलाई एक सप्ताहको बगानको रोज दिएको पनि पीडित निरुता छेत्रीले बताइन्।

आफूलाई दु:ख परेको समयमा यसरी सहयोग गरिदिनु भएकोमा क्षेत्रीय सभासद कल्पना प्रधान साथै अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीप्रति आभार प्रकट गरेकी छिन्। उक्त भ्रमणमा सभासद कल्पना प्रधानसित समष्टि सचिव ललित प्रधान, समष्टि सदस्य कल्याण लामा, प्रचार प्रसार सचिव जिनोद परियार, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री साथै सचिव तुसार राईको विशेष उपस्थिति रहेको थियो। उनले गत आइतबार आगो लागेको घटनाको खबर पाउन साथ खण्ड विकास अधिकारी, पञ्चयात कार्यलाय साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीसँग सम्पर्क गरी पीडित परिवारलाई सहयोग पुराएका थिए।









