
सन् १९२४ –मा भारतमा नारीहरूका निम्ति कानुनी पेशाको ढोका खोलिएपछि यस क्षेत्रमा भारी संख्यामा नारीहरूले प्रवेश गरे। न्यायाधीश एम फतिमा बिवी भारतको सर्वोच्च न्यायालयमा नियुक्त हुने पहिलो महिला न्यायाधीश हुन्। अन्ना चण्डी भारतका पहिलो नारी न्यायाधीश अनि उच्च न्यायालयका न्यायाधीश बन्ने पहिलो भारतीय नारी हुन्। नारीलाई कमजोर सम्झने पितृ सत्तात्मक समाजलाई आज नारीले आफ्ना साहस र दक्षताको परिचय दिइसकेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो नारी बचेन्द्री पाल र पहिलो दिव्याङ्ग नारी अरूणिमा सिन्हा हुन्। उनी राष्ट्रिय स्तरका भलीबल खेलाडी पनि हुन्। अरूणिमा धैर्य, लगनशीलता र कृतसंकल्पताका निम्ति विकलाङ्गता बाधक बन्न सक्दैन भन्ने प्रमाणित गर्ने एक सशक्त नारी हुन्। रोशनी शर्मा कन्याकुमारीदेखि काश्मीरसम्म मोटरबाइकमा यात्रा गर्ने पहिलो भारतीय नारी बनेकी छन्। पूणेकी शीला दाउरे अटो रिक्साका पहिलो महिला चालक हुन्। यसप्रकार आज प्रत्येक क्षेत्रमा पुरूषसित समानान्तर रूपमा अघि बढेर नारीले आफ्नो सक्षमता प्रमाणित गरेकी छन्।
‘भारतमा १९०१ –मा नारीको साक्षरता दर ०.६ प्रतिशत थियो भने २००१ –मा ५३.७ अनि २०११ –मा ६५.५ प्रतिशत भएको छ। शिक्षा, चिकित्सा, कानुन, प्रशासन, पत्रकारिता, स्व-रोजगार, उद्धमी विकास, कृषि तथा पशुपालन जस्ता सबै क्षेत्रमा कार्यरत रहेर आर्थिक स्वतन्त्रताको उपभोग गर्दैअहिले नारीहरू आत्मनिर्भर बनेका छन्।नारीहरू अन्तरिक्षमा पुग्नदेखि सगरमाथाको टाकुरासम्म पुगेका छन्‘
खेलकूदको क्षेत्रमा पनि आज भारतका नारीहरू पछौटे छैनन्। आरती साह इङ्लिस च्यानल पार गर्ने पहिलो भारतीय र पहिलो एशियायी महिला तैराकी हुन्। उनी पद्मश्रीद्वारा सम्मानित पहिलो महिला खेलाडी पनि हुन्। मिथाली राज विश्वमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो नारी हुन्। सानिया मिर्जा महिला टेनिस सङ्घ (डब्लुटीए) खिताब जित्ने पहिलो महिला टेनिस खेलाडीर डब्लुटीए डबल रेङ्किङमा पहिलो स्थान हासिल गर्ने पहिलो भारतीय नारी पनि हुन्। साइना नेहवाल ओलम्पिक खेलामा ब्याडमिन्टनमा पदक जित्ने पहिलो महिला अनि २०१५ –मा विश्व रेङ्किङमा पहिलो स्थान हासिल गर्ने पहिलो भारतीय नारी हुन्। मेरी कोम यस्ता एकमात्र महिला बक्सर हुन् जसले छवटा विश्व प्रतियोगिता प्रत्येकमा पदक हासिल गरेकी छन्। उनी एशियाली खेल सन् २०१४ मा स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला बक्सर पनि हुन्। अरूणा रेड्डी जिम्नास्टिक विश्व कपमा पदक जित्ने पहिलो भारतीय नारी हुन्।
‘नारी सशक्तिकरणको दिशामा अहिले धेरै आधिकारिक पहलहरू भइरहेछन्‘
अन्तरीक्षसम्ममा नारीको पदार्पण भइसकेको छ। सन् २००३ –मा अन्तरीक्ष अभियानका पुरूषहरूको टोलीमा भारतीय मूलकी कल्पना चावला पनि थिइन्। उनी अन्तरीक्षमा पुग्ने पहिलो भारतीय मूलकी नारी हुन् जसको अरूसितै अन्तरीक्ष यानमै निधन भयो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) –का वर्तमान मुख्य अर्थशास्त्री गीता गोपीनाथ यस पदमा नियुक्त हुने पहिलो भारतीय-अमेरिकी नारी हुन्। यसरी नै सङ्गीत-कलाको क्षेत्रमा पनि भारत रत्नले सम्मानित सहस्राब्दी गायिका लता मंगेस्कर, शास्त्रीय गायिका बेगम अख्तर, चित्रकार अम्रिता शेरगिल जस्ता धेरै नारीहरूले यश कमाइसकेका छन्। नेपाली सङ्गीतकी वरिष्ठ गायिका तथा सङ्गीत सर्जक शान्ति ठटालको पनि योगदान ऐतिहासिक रहेको छ। उनी चलचित्रका पहिलो नेपाली नारी सङ्गीत निर्देशक हुन्। साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित पहिलो नारी साहित्यकार अम्रिता प्रितम हुन्। साहित्यिक क्षेत्रमा वर्तमान नारीको भूमिका प्रशंसनीय छ।
‘तब के नारीहरू सही रूपमा सशक्त भएका छन् त? नारी सशक्तिकरण र नारी उपलब्धीलाई लिएर के हामी अन्योलमा परेका त छैनौं? संविधानले नारीलाई प्रचुरहक र अधिकार उपलब्ध गराएको छ, तर के उनीहरू वास्तविक रूपमा यी अधिकारका उपभोगी बनेका छन्? के नारीहरू आफ्ना अधिकारप्रति अवगत र सचेत छन्?’
लिङ्ग समानता, नारी उन्मुक्ति र नारी सशक्तिकरणको दिशामा अहिले धेरै आधिकारिक पहलहरू भइरहेछन्। मुसलमान समुदायमा तीन तलाकको प्रथा बन्द हुनु एउटा ऐतिहासिक पहल रहेको छ। यस प्रथाअनुसार पतिले बोलेर अथवा लेखेर अथवा इमेलमा तीनपटक तलाक भनेको खण्डमा उसकी पत्नीसित विवाह-विच्छेद हुने गर्थ्यो। मुसलमान नारीहरूका निम्ति शोषणको एउटा मुख्य स्रोत बनेको यस प्रथालाई सन् २०१७ मा सर्वोच्च न्यायालयले असम्बैधानिक घोषित गर्यो। दसदेखि पचास वर्षसम्मका मासिक धर्मको उमेरका नारीहरूलाई केरालाको सबरीमाला मन्दिरमा जान निषेध थियो, तर सन् २०१८ -को सर्वोच्च न्यायालयको फैसलाअनुसार अब नारीहरू यस मन्दिरको दर्शन गर्न पाउने भएका छन्। नारीलाई सशक्त बनाउने मह्त्त्वपूर्ण साधन हो शिक्षा। भारतमा १९०१ –मा नारीको साक्षरता दर ०.६ प्रतिशत थियो भने २००१ –मा ५३.७ अनि २०११ –मा ६५.५ प्रतिशत भएको छ। शिक्षा, चिकित्सा, कानुन, प्रशासन, पत्रकारिता, स्व-रोजगार, उद्धमी विकास, कृषि तथा पशुपालन जस्ता सबै क्षेत्रमा कार्यरत रहेर आर्थिक स्वतन्त्रताको उपभोग गर्दैअहिले नारीहरू आत्मनिर्भर बनेका छन्।नारीहरू अन्तरिक्षमा पुग्नदेखि सगरमाथाको टाकुरासम्म पुगेका छन्। राष्ट्रपति, प्रधानमन्त्री, लोकसभा अध्यक्ष र विधानसभा अध्यक्षसम्म बनिसकेका हाम्रा धेरै नारीहरू राष्ट्रिय र राज्य स्तरमा मन्त्री, सांसद र विधायक छन्। आईएएस, आईपीएस र आईएफएसजस्ता केन्द्रीय नागरिक सेवामात्र होइन सेनामा पनि हाम्रा नारीहरूको प्रवेश भइसकेको छ। आज यी सबै नारीसशक्तिकरणका आधार बनेका छन्। यी नारी विकासका उपलब्धी हुन्, प्रमाण हुन्, आदर्श हुन्। विकास र उपलब्धी एउटै हुनसक्छ तर उपलब्धी र सशक्तिकरण कदाचित् एउटै हुनसक्दैन। तब के नारीहरू सही रूपमा सशक्त भएका छन् त? नारी सशक्तिकरण र नारी उपलब्धीलाई लिएर के हामी अन्योलमा परेका त छैनौं? संविधानले नारीलाई प्रचुरहक र अधिकार उपलब्ध गराएको छ, तर के उनीहरू वास्तविक रूपमा यी अधिकारका उपभोगी बनेका छन्? के नारीहरू आफ्ना अधिकारप्रति अवगत र सचेत छन्? भारतमा वास्तविकता भिन्नै छ। शहरी क्षेत्रमा नारीहरू शिक्षित छन् तर शिक्षाको क्षेत्रमा ग्रामीण स्तरका नारीहरू अझै पनि पछौटे छन्। उनीहरूले सशक्तिकरणको अवसर उपभोग गर्न पाएका छैनन्। त्यसर्थ के नारी सशक्तिकरण कोल्टे त भएको छैन? पूर्ण नारी सशक्तिकरण तबमात्र सुनिश्चित हुनसक्छ जब शहरी क्षेत्रसितै ग्रामीण र सुदूरवर्ती क्षेत्रका नारीहरूले पनि समान अवसरको उपभोग गर्ने मौका पाएर स्वंयलाई सक्षम र स्वावलम्बन बनाउन सक्छन्। (चौथो भागमा पढ्नुहोस्: शंकाका घेराभित्र समानता र समान अधिकार)
(लेखिका सुपरिचित सामाचार वाचिका/उद्घोषिका, स्वतन्त्र पत्रकार साथै नारीवादी लेखिका हुनुहुन्छ)










