सप्ताहव्यापी राष्ट्रिय सुवा सप्ताह २०२३ कार्यक्रम

गेजिङ: स्वामी विवेकानन्दको जन्म जयन्तीको अवसरमा सप्ताहव्यापी राष्ट्रिय सुवा सप्ताह २०२३ कार्यक्रम शुरू गरिएको छ। नेहरू युवा केन्द्र संगठन, गेजिङद्वारा औद्योगिक प्रशिक्षण संस्थान महाविद्यालय, गेजिङ र सिक्किम स्वैच्छिक रक्तदाता संघको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रमको विषय शिक्षित युवा शिक्षित भारत राखिएको छ। कार्यक्रममा पीएचई विभागका चेयरमेन हरि नारायण सुबेदी मुख्य अतिथि थिए।

जिल्ला पञ्चायत सागर शर्मोले रक्तदान शिविरको महत्वमाथि प्रकाश पार्दै यो शिविर समारोहको महत्वपूर्ण पक्ष भएको बताए। जिल्ला युवा अधिकारी देव नेपालले यो सप्ताहव्यापी समारोह युवाहरूका लागि महत्वपूर्ण रहेको बताए। नेहरू युवा केन्द्र संगठनले गेजिङ र सोरेङ जिल्लामा गरिरहेका विभिन्न सामाजिक अनि युवा केन्द्रित कार्यक्रमहरूको बारेमा पनि जानकारी गराए। यसै गरी, आरआरसी समन्वयक किशोर बानियाले राष्ट्र निर्माणमा युवाहरूको भूमिकामाथि कुरा राख्दै समाजको उत्थानमा युवाहरूको हस्तक्षेप महत्वपूर्ण रहेको बताए। आईटीआई महाविद्यालय, गेजिङका प्राचार्य भीम बहादुर चौहानले स्वामी विवेकानन्दको शिक्षामाथि प्रकाश पार्दै एक आदर्श मानव बन्न युवाहरूलाई उनका शिक्षा आत्मसात गर्न आह्वान गरे।

समारोह अन्तर्गत रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आगामी दिनहरूमा संस्कृति दिवस, सहभागिता दिवस, सामाजिक सेवा दिवस, शान्तिका लागि युवा दिवस, कौशल विकास दिवस, महिला सशक्तिकरण दिवस सम्पन्न गरिने बताइएको छ।

About Author

Advertisement