टोकियो: गत साता सम्पन्न निर्वाचनमा भारी बहुमत हासिल गरेपछि सनाए तकाइची लाई बुधबार जापानको संसदले पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने भएको छ। उनी आफ्नो दोस्रो कार्यकालका लागि मन्त्रिपरिषद् गठन गर्ने तयारीमा छिन्।
तकाइचीले जापानको सैन्य क्षमता सुदृढ बनाउने, हतियार निर्यातलाई प्रोत्साहन गर्ने तथा आप्रवासन नीतिलाई कडाइ गर्ने योजना अघि सारेकी छिन्। साथै, घरेलु जीवनयापन खर्च घटाउन खाद्य वस्तुमा दुई वर्षका लागि बिक्री कर घटाउने प्रस्ताव पनि गरेकी छन्।
यद्यपि, विज्ञहरूका अनुसार उनको उदार वित्तीय नीतिले महँगी बढ्न सक्ने तथा जापानको उच्च राष्ट्रिय ऋण घटाउने प्रयासमा ढिलाइ हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
तकाइची आगामी महिना हुने महत्वपूर्ण शिखर सम्मेलनका लागि तयारीमा जुटेकी छन्, जहाँ उनको भेट डोनाल्ड ट्रम्प सँग हुने बताइएको छ। ट्रम्पले अप्रिलमा चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उनको पुनर्नियुक्तिसँगै जापानको सुरक्षा नीति, आर्थिक सुधार र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ दिशा देखिने अपेक्षा गरिएको छ।









