दार्जिलिङ: संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ। विद्यालय बन्दको निर्णयलाई पहाडको शैक्षिक धरातल कमजोर बनाउँदै यसको दायी शिक्षक शिक्षिकालाई बनाउने षड्यन्त्रको विरुद्धमा संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहाडको सम्पूर्ण विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो। तर बिहिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भानु भवन दार्जिलिङको एक सभामा आफु शिक्षक शिक्षिकाहरुको साथमा रहेको अनि नोकरी बचाउनको निम्ति जुनै हदसम्म पनि जाने आश्वासन दिँदै विद्यालयहरु बन्दको निर्णयलाई फिर्ता लिने आह्वान् गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ। यो समय बोर्ड परीक्षाको मुखमा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै एवं जीटीएका मुख्य कार्यपाल अनित थापाको आश्वासनलाई शिरोपर गर्दै यस निर्णयलाई स्थगित मात्र गरेर आगामी दिनमा पुनः यसलाई निरन्तरता दिन सक्ने पनि विज्ञप्तिमा जनाइएको छ। भोलिदेखि विद्यालयको सम्पूर्ण कामकाज सुचारु रुपमा चल्ने बताइएको छ भनी संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समितिको उप सभापति विवेक छेत्रीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।









