‘सेवा नै संगठन’ मूल मन्त्र भएको दाबी
गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले संकटको यस कठिन परिस्थितिमा तुमीन–लिंगी क्षेत्रका प्रभावित परिवारहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
मानवताको सेवा र ‘सेवा नै संगठन’ (सेवा ही संगठन) आफ्नो दलको मूल विचारधारा र मुख्य संकल्प रहेको उल्लेख गर्दै भाजपाले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा सक्रियताका साथ लागिपरेको बताएको छ।
तुमीन–लिंगी क्षेत्रका प्रभावित बासिन्दाहरूको दुःखमा साथ दिँदै भाजपा सिक्किमका प्रतिनिधिहरूले स्थलगत भ्रमण गरी पीडित परिवारहरूलाई राहत सामग्री वितरण गरिरहेका छन्। पार्टीले स्थलगत अवस्थाको निरन्तर अनुगमन गर्नुका साथै प्रभावित क्षेत्रमा जनजीवन सामान्य नभएसम्म नागरिकका समस्या र मागहरूलाई सम्बन्धित सरकारी निकाय तथा उच्च अधिकारीहरूसमक्ष निरन्तर उठाइरहने स्पष्ट पारेको छ। विषम परिस्थितिमा सम्पूर्ण कार्यकर्ताहरू करुणा, दृढ प्रतिबद्धता र जिम्मेवारीबोधका साथ जनताको सेवामा समर्पित रहने भाजपा सिक्किमले जनाएको छ।










