शुरु भयो नाट्य संस्था जागृति परिवारको स्वर्ण जयन्तीको कार्यक्रम  

00-1-Drama-3

खरसाङ: तीन दर्जन भन्दा बढी नाटकहरूका साथमा धेरै एकांकी नाटकहरू गरिसकेको खरसाङको नाट्य संस्था जागृति परिवार यसपाली पचास वर्षमा अर्थात स्वर्ण जयन्तीमा प्रवेश गरेको छl जागृति परिवारले स्वर्ण जयन्ती मनाउनका लागि यसपाली वर्षव्यापी कार्यक्रम तयार गरेको छl स्वर्ण जयन्तीको कार्यक्रम जागृति परिवारले नेपाली नयाँ वर्ष २०८० मा सम्पन्न भइरहेको सांस्कृतिक महाकुम्भबाट शुरु गरेको छl गोर्खा सांस्कृतिक संस्थानको आयोजनामा खरसाङको मन्टेभियट मैदानमा सम्पन्न भइरहेको सांस्कृतिक महाकुम्भबाट शनिबार (१५ अप्रेल) ‘सँगै…तर…एक्ला एक्लै’ करिब ३० मिनटको नाटक प्रदर्शन गरेर स्वर्ण जयन्तीको कार्यक्रमको शुरुआत गरेको छl

वर्तमान समयमा समाजको अघि उजागर हुँदै गरेको सामाजिक समस्यामाथि नाटक आधारित रहेको थियोl अनलाइन सोसियल मिडियाहरूबाट भर्चुअल वर्ल्डमा प्रवेश गरेर भ्रमको शिकार बन्दै गइरहेको साथै व्यक्तिको सोच-विचार आधुनिक उपकरण र सोसियल मिडियाद्वारा नियन्त्रित हुँदै जान थालेको विषयलाई नाटकमा दर्शाइएको थियोl सञ्जय प्रधानद्वारा लिखित यस नाटकलाई निर्देशन र सम्पादन वरिष्ठ नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले गरेका थिए भने सह निर्देशक लक्ष्मण गुरुङ थिएl सबिता मंग्राती, अदीप रोका, किशोर प्रधान, देवेन गुरुङ, मन्जुश्री लामा, रचिता छेत्री, दिवङ, सृजन सार्की, सोनाल बीके, राहुल सुनार आदि नाटकका कलाकारहरू थिएl स्वर्ण जयन्तीको शुभारम्भ सांस्कृतिक महाकुम्भबाट जुरेपछि जागृति परिवारले गोर्खा सांस्कृतिक संस्थानलाई धन्यवाद जनाएको छl  सांकृतिक महाकुम्भका आयोजक गोर्खा सांस्कृतिक संस्थानको तर्फबाट जागृति परिवारका संस्थापक पूर्ण गुरुङ ‘निरुपम’ र अध्यक्ष खेमराज राईलाई सम्मानस्वरूप स्मृति चिन्ह प्रदान गरियोl  

आफ्नो पचास वर्षको नाट्य यात्रामा जागृति परिवारलेबन्धकी राखेको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘आगो लागेको क्षितिज’, ‘शीर्षकविहीन’, ‘रातो सूर्यको अपहरण’, ‘अग्निशिखा’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’जस्ता दर्जनौं कलात्मक नाटकहरु प्रदर्शन गरिसकेको छl ‘बन्धकी राखिएको सिन्दूर’ नेपालको राजधानी काठमाडौंमा पनि सफलतापूर्वक मञ्चन भएर लोकप्रिय बनेको थियोl

About Author

Advertisement