शिक्षित युवतीद्वारा शुरु गरिएको प्ले ग्रुप पाठशालाको सभासद श्याम शेर्पाद्वारा उदघाटन

IMG-20250304-WA0187

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर चारको अप्पर डुमाराम बस्तीमा हिमाली बोर्डिङ स्कूलमाथि प्ले ग्रुप पाठशालाको आरम्भ गरिएको छ। यस पाठशालाको उद्घाटन खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट विधिवत रुपमा गरिएको छ। यस पाठशालामा शिशुहरूलाई खेलको माध्यमबाट पठन-पाठन गराइने बताइएको छ। छोई धीम नामक उक्त पाठशाला एमएससी बीएड गरेकी एक शिक्षित युवती पुनम तामाङले आरम्भ गरेकी हुन्। उद्घाटनको कार्यक्रममा सभासद श्याम शेर्पाको साथमा खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, भूतपूर्व सैनिक संगठनका संयोजग अवकाशप्राप्त कप्तान अमृत प्रधान, नारी शक्ति नेत्री भक्ति प्रधान, सृजना प्रधान समष्टि युवा शक्ति नेता रुपेश देवान अनि गाउँलेहरूको उपस्थिति थियो। यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले जानकारी गराउँदै भने, एउटा शिक्षित युवतीको यो अति राम्रो सोच हो। तिनले आफ्नो असल सोच लिएर केही गर्छु भन्ने सहास लिएर यो कार्य आरम्भ गरेकी छिन्। युवा पिढ़ीको यस प्रकारको सोच अनि सहासलाई सबैले सहयोग गर्नु पर्ने हुन्छ। पुनम तामाङले शिक्षित युवा पिढ़ीले आफ्नै जग्गामा बसेर कार्य गर्न सक्छन् भन्ने संदेश पनि दिएकी छिन्। पुनम तामाङलाई हार्दिक बधाई अनि शुभकामना दिन्छौँ। कसैले पनि अघि आएर राम्रो कार्य गर्छन्, स्वनिर्भर हुने कार्य गर्छन्, समाजको उन्नतिको लागि काम गर्छन् भने हामी सक्दो सहयोग गर्छौँ।पाठशालाकी संस्थापिका पुनम तामाङले उपस्थित सबै लाई धन्यवाद ज्ञापन गरिन्।

About Author

Advertisement