शाहलाई साथमा लिएर शुभेन्दुले मनोनयन दर्ता, सुनौलो बंगाल निर्माणको आह्वान

IMG-20260402-WA0084

कोलकाता(शुभाशिष विश्वास): पश्चिम बंगाल विधानसभा निर्वाचन जति–जति नजिकिँदै गएको छ, त्यति नै राज्यको राजनीति तातिँदै गएको छ। सोमबारदेखि मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु भइसकेको छ, जुन ६ अप्रिलसम्म चल्नेछ।
यसै सन्दर्भमा बिहीबार भवानीपुर क्षेत्रबाट उम्मेदवारको रूपमा शुभेन्दु अधिकारीले मनोनयन दर्ता गरेका छन्। यस अवसरमा उनका साथमा केन्द्रीय गृहमन्त्री अमित शाह उपस्थित थिए।
मनोनयन दर्ता गर्नु अघि अमित शाहले हाजरा मोडमा एक जनसभालाई सम्बोधन गरेका थिए। त्यहाँबाट उनले मुख्यमन्त्री ममता बनर्जीमाथि कडा प्रहार गरे। उनले बताए कि मतदान अघि आउने पन्ध्र दिन उनी पश्चिम बंगालमै रहनेछन् र शुभेन्दुको मनोनयनकै कारण उनको यो भ्रमण भएको हो।
त्यसपछि उनले भने कि शुभेन्दु अधिकारी सुरुमा केवल नन्दीग्राम क्षेत्रबाट मात्र चुनाव लड्न चाहन्थे, तर उनको आग्रहमा उनले भवानीपुरबाट पनि उम्मेदवार बन्ने निर्णय गरेका हुन्। उनले अगाडि भने, “ममताको घरमै पुगेर उनलाई हराउनुपर्छ। अघिल्लो पटक ममता बनर्जीले राज्यमा सरकार त बनाएकी थिइन्, तर नन्दीग्राममा शुभेन्दुसँग पराजित भएकी थिइन्। यसपटक उनी केवल राज्यभर मात्र होइन, भवानीपुरमा पनि हार्नेछिन्।
अमित शाहले थप दाबी गर्दै भने, “यसपटक बंगालमा १७० सिट प्राप्त गर्नुपर्छ, तब मात्र परिवर्तन सम्भव हुन्छ। तर एउटा सजिलो उपाय पनि छ, भवानीपुरको एक सिट हार्नेबित्तिकै परिवर्तनको सुरुवात हुनेछ।
त्यसपछि उनले घुसपैठको विषय उठाउँदै भने, “बंगालका जनता अवैध असुली, गुन्डाराज र महिलाको असुरक्षाबाट पीडित छन्। घुसपैठियाका कारण जनसंख्याको सन्तुलन बदलिँदै गएको छ। बेरोजगारी र भ्रष्टाचारले पनि जनता त्रसित छन्। त्यसैले बंगालका जनता परिवर्तन चाहन्छन्। घुसपैठियालाई खोजी–खोजी राज्य बाहिर निकालिनेछ। हामी सुनौलो बंगाल निर्माण गर्न चाहन्छौँ।
उनले बंगालका जनतालाई आह्वान गर्दै भने, “बंगालका हरेक कुनाबाट एउटै आवाज उठोस्—सरकार परिवर्तन गरौँ, ममता बनर्जीलाई विदा गरौँ।
त्यसपछि हाजराबाट दलको र्‍याली सुरु भयो। र्‍याली कालीघाटस्थित मुख्यमन्त्रीको निवास नजिक पुग्दा वातावरण तनावपूर्ण बन्यो। तृणमूल समर्थकहरूले टाउकोमा कालो कपडा बाँधेर विरोध प्रदर्शन गरे र नाराबाजी गर्न थाले।
दुवै पक्ष आमनेसामने आएपछि उनीहरूबीच विवाद सुरु भयो, जसले स्थिति झन् तनावपूर्ण बनायो। यसै क्रममा अमित शाह र्‍याली छोडेर आफ्नो काफिलासहित त्यहाँबाट निस्किए र अन्यत्र लागे।
अमित शाह घटनास्थलबाट निस्किएपछि स्थिति अझ बढी तनावपूर्ण बन्यो। कार्यकर्ताबीच धकेलाधकेल सुरु भयो र प्रहरीसँग पनि झडपको अवस्था सिर्जना भयो।
यसपछि शुभेन्दु अधिकारीले भवानीपुर क्षेत्रका लागि आफ्नो मनोनयन पत्र दर्ता गरे। मनोनयन दर्ता गरेपछि उनी भवनबाट बाहिर निस्किए। उनका साथमा राज्य दलका अध्यक्ष शमिक भट्टाचार्य र अमित शाह पनि उपस्थित थिए।
यद्यपि त्यस दिनको विरोधबारे कुनै टिप्पणी नगरे पनि अमित शाहले फेरि “सुनौलो बंगाल” निर्माणको आह्वान गरे। उनले भने, “यसपटक बंगालका जनता तृणमूललाई सत्ताबाट हटाउनेछन्। सरकार बनेपछि हामी श्यामा प्रसाद मुखर्जीको सपनाको सुनौलो बंगाल निर्माण गर्नेछौँ।
अन्त्यमा उनले दाबी गरे कि २०२६ को निर्वाचनमा बंगालमा परिवर्तन अवश्य हुनेछ।

About Author

Advertisement