शान्तमय सिक्किमलाई अशान्त र भयपूर्ण वातावरणमा धकेल्ने काम भइरहेको छः डीआर थापा

bjps_345

गान्तोक– भारतीय जनता पार्टी, सिक्किमको विधानसभा प्रवास योजना अन्तर्गत आज नाम्ची जिल्लाको नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा बुथ कार्यकर्ताहरूसित समन्वय बैठक सम्पन्न भयो। सभामा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्षगण, सल्लाहकारगण, महामन्त्रीलगायतका प्रदेश पदाधिकारीगण, जिल्ला अध्यक्ष सीएल गुरुङलगायत मण्डल अनि बुथ स्तरका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। विधानसभा प्रवास योजना अन्तर्गत आजदेखि शुरू भएको सांगठनिक कार्यक्रम आगामी दिनहरूमा क्रमशः राज्यका सबै निर्वाचन क्षेत्रहरूमा बैठकहरू आयोजन गरिने जानकारी प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा गराएको छ।

उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा प्रदेश अध्यक्ष डीआर थापाले हिजो मात्र चन्द्रमामा चन्द्रयान-3 को सफल अवतरणको निम्ति देशका प्रधानमन्त्री नरेन्द्र मोदी साथै यस महाअभियानमा लागिपरेका सम्पूर्ण वैज्ञानिकहरूप्रति नमन गर्दै सम्पूर्ण देशवासीलाई बधाई दिए। देशले हासिल गरेको यस अभूतपूर्व उपलब्धिमा हामी सबैले गर्व गर्नुपर्ने कुरामा जोर दिँदै यसले प्रत्येक देशवासीलाई प्रेरणा दिने उनले बताए। आफ्नो सम्बोधनमा अध्यक्ष थापाले भारतीय जनता पार्टीमा बुथ कार्यकर्ताहरूको भूमिका र महत्व अन्य पार्टीहरूभन्दा बढ़ी रहेको जानकारी दिँदै प्रत्येक बुथमा पार्टीलाई कसरी मजबुत बनाउनुपर्ने भन्ने विषयमा उपस्थित कार्यकर्ताहरूलाई मूलमन्त्र साथै हौसला प्रदान गरे। यस क्रममा अध्यक्ष थापाले शान्तमय सिक्किमलाई अशान्त र भयपूर्ण वातावरणमा धकेल्ने काम भइरहेको बताउँदै सिक्किमको शान्ति श्रृंखला फर्काइ ल्याउन, सिक्किमका गुमेका अनि थाँतीमा रहेका हक अधिकारहरू दिलाउनका साथै समृद्ध र आत्मनिर्भर सिक्किम निर्माण गर्ने क्षमता अब केवल भारतीय जनता पार्टीमा मात्र रहेको ठोकुवा गरे।

अहिले भ्रष्टाचार, हिंसा अनि बेरोजगारी समस्याले ग्रसित सिक्किमवासीले भाजपातर्फ आशाको नजरले हेरिरहेको बताउँदै सबै कार्यकर्ताहरूलाई अब दिन-रात खटेर पार्टीलाई विजयी तुल्याउनमा योगदान दिनुपर्ने कुरामा जोर दिए। सभामा उपस्थित कार्यकर्ताहरूले पनि पार्टीको नीति र सिद्धान्तलाई अङ्गालेर आगामी २०२४ को विधानसभा तथा लोकसभा चुनाउमा भाजपालाई पूर्ण बहुमत दिलाउन आफूहरू कटिबद्ध रहेको बताए। सभामा मण्डल समितिका कार्यकर्ताहरूले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। बैठकपछि भाजपा सिक्किमको एउटा शीर्षस्थ टोलीले नाम्ची कलेज एसआरसी अध्यक्ष स्व. पदम गुरुङको रहस्यमय मृत्युमाथि न्यायिक जाँच गरिरहेका न्यायमूर्ति एनके जैनसित भेट गरेर आफ्नो प्रतिनिधित्व दर्ता गराएको छ। पार्टी टोलीले न्यायमूर्तिसमक्ष चाँड़ोभन्दा चाँड़ो यस मुद्दामाथि निष्पक्ष जाँच गरेर पीड़ित परिवारलाई न्याय दिनुपर्ने माग राखेको छ भने न्यायमूर्ति जैनको अनुरोधमा आगामी दुई दिनभित्रमा पार्टीको तर्फबाट एउटा लिखित याचिका पनि कमिशनलाई बुझाइने बताएको छ।

About Author

Advertisement