नयाँ दिल्ली: दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया कथित शराब नीति घोटाला प्रकरणमा अदालतबाट निर्दोष ठहर भएका छन्। अदालतले केंद्रीय अन्वेषण ब्यूरो (सीबीआई) को आरोपपत्र स्वीकार गर्न अस्वीकार गर्दै २१ अन्य आरोपीलाइ पनि राहत दिएको छ।
यो मुद्दा आम आदमी पार्टी सरकारद्वारा ल्याइएको र पछि खारेज गरिएको आबकारी नीतिसँग सम्बन्धित थियो। विशेष न्यायाधीशले अनुसन्धानमा कमजोरी औंल्याउँदै केजरीवालविरुद्ध ठोस प्रमाण नभएको र सिसोदियाविरुद्ध प्रारम्भिक आधार समेत नदेखिएको बताए।
अदालतले आरोपपत्रभित्रै विरोधाभास रहेको उल्लेख गर्दै षड्यन्त्रको सिद्धान्त कमजोर भएको टिप्पणी गर्यो।
अदालतपछि भावुक बने केजरीवाल
निर्दोष ठहर भएपछि अरविंद केजरीवाल भावुक देखिए। उनले सञ्चारमाध्यमसँग कुरा गर्दै सत्यको जित भएको प्रतिक्रिया दिए।
उनले भारतीय जनता पार्टी ले आफ्नो पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाए। साथै मनीष सिसोदिया लाई दुई वर्षसम्म जेलमा राखिएको स्मरण गराए।
केजरीवालले भने, “मैले जीवनभर इमानदारी कमाएको छु। आम आदमी पार्टी भ्रष्ट छैन।”









