खरसाङ: सालबारीको सयपत्री समाज भवनमा शब्द समयको मासिक भेटघाट र रचना पठनको १०८औं प्रकरण सम्पन्न भएको छ। प्रथममा शब्द समयका अभिभावक व्यक्तित्व वरिष्ठ साहित्यकार नरबहादुर दाहालले आफ्नो मन्तव्यमा साहित्यकार दाहालले आफ्ना कुराहरू राख्ने क्रममा भानु जयन्ती पालनको इतिहास केलाउँदै भानु जयन्ती र भानु जन्मोत्सव शब्दहरूमा रहेको पार्थक्य बताए। उनले भानु जयन्ती भारतमा मनाइएका ऐतिहासिक तथ्यहरू बताउँदै आफूले दश-बाह्र बर्षको उमेरदेखि नै भानु जयन्ती हेरेर र मनाएर आएका कुराहरू बताए। वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाद्वारा सञ्चालन गरिएको यस प्रकरणमा उनले भानु जयन्तीसितै यो दिन विदा घोषित गर्नको निम्ति गरिएका कार्यहरूको उल्लेख गर्दै आफू पनि यस अभियानमा सहभागी बन्दाका अनुभवहरू बताए। आजको प्रकरणमा वरिष्ठ कवि मोहन ठकुरीले व्यङ्ग्य कविता रचना ‘पुस्तक लोकार्पण’ शीर्षकमा सुनाए, युग्मककार कालूसिंह रनपहेंलीले आफ्ना युग्मकहरूसित वर्तमानमा वर्षाको ताण्डवमाथि लेखिएको कविता ‘पानी पानी भइरहेको देश’ पठन गरे। कथाकार मणिकुमार प्रधानले ‘हराएको छाता’ पढ़ेर सुनाए भने अप्रा कप्तान महेश कुमार सुब्बाले ‘स्मार्ट फोन’ शीर्षकमा आफ्नो कविता सुनाए। कवि हेमन्त काफ्लेले मेधावी विद्यार्थी रोशना बास्तोलालाई बधाई दिँदै उनको उपलब्धि जाति र देशकै निम्ति महत्तवपूर्ण कुरो हो भनी बताए। उनले पाद्री गङ्गाप्रसाद प्रधानमाथि रचित आफ्नो कविता ‘गङ्गा तिमी’ पठन गरे। कवि लीलबहादुर सुनारले प्रभावकारी रम्भास र मुक्तकहरू सुनाए। साहित्यकार प्रकाशमणि प्रधानको कविता थियो ‘समय’। चियाबारीमाथि लेखिएको कविता पठन गरे कवि गङ्गा प्रधानले। गजलगो निर्दोषिका तामङले सुन्दर गजल सुनाइन् भने कवि कुशल राईले मीठा रूबाईहरू पठन गरेका थिए। यस अवसरमा आफ्ना विचारहरू प्रकट गरेकी थिइन् सर्जक अजन्ता सुब्बाले। उनले भानु जयन्ती मनाइने तरिकाहरूमाथि आफ्नो विचार राखिरहेकी थिइन्। कवि ज्ञानेन्द्र खतिवड़ाले अजन्ता सुब्बाको विचारलाई स्वागत गर्दै ‘शब्द समय’ ले प्रकरणभित्र यसरी नयाँ नयाँ विचारहरूमाथि चिन्तन गर्ने कार्य पनि थालेकोमा खुशी व्यक्त गरे। प्रकरणको आरम्भमा अजन्ता सुब्बालाई वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट खदा पहिर्याएर शब्द समयमा स्वागत जनाइएको थियो। वरिष्ठ कवि एवं कार्यक्रम सञ्चालक ज्ञानेन्द्र खतिवड़ाद्वारा नै धन्यवाद ज्ञापन गरिएपछि यो प्रकरण समाप्त भयो। यस अवसरमा शब्द समयकी वरिष्ठ नारी सदस्या नीरू शर्मा, सर्जक योगेश मुक्सु, वरिष्ठ समाजसेवी पूर्ण मंगर, नारद छेत्री, समृद्धि राई, सन्ध्या छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।











