सालबारी: सालबारीको जयशोदा भवनमा शब्द समय सालबारीको १५२औँ प्रकरण सम्पन्न भयो।
यस प्रकरणमा लेखक कविहरू क्रमैले आई. एन. शर्मा, बिर्ख खड्का ‘डुवर्सेली’, कृष्ण प्रधान ‘अर्पण’, जीतबहादुर सुनार, देविका मङ्ग्रान्ती, कविता अधिकारी, मणिका प्रधान गुरुङ, पूर्ण मगर, गणेश छेत्री, प्रदीप शेर्पा, हेमन्त काफ्ले, नीरा सुब्बा नेचाली, कप्तान महेशकुमार सुब्बा, भाष्कर शर्मा मैनाली, एन. पी. एस निरौला, आदिले कथा, कविता वाचन गरे। कार्यक्रममा आफ्नो उद्घाटनीय वक्तव्य राख्दै कवि, समालोचना डा. प्रा. सञ्जय बान्तवाले साहित्यकर्मको उद्देश्य, औचित्य र समाजमा यसको अवदानमाथि प्रकाश पारे। उनले शब्द समयले आगामी दिनमा मासिक कार्यक्रम इतर साहित्यका विविध विधामाथि कार्यशाला राखिनुपर्ने आवश्यकता औँल्याए। लेखक, राजनीतिक चिन्तक डी. एस. बमजनले शब्द समयले अहिलेसम्म गरेका कार्यको प्रशंसा गर्दै लेखकहरू आफ्ना भाषा, साहित्य, समाज, जातिमाथि थप दायित्वशील बन्नुपर्ने बताए। कवि एवम् शब्द समयका संयोजक निर्मल सिन्चुरीले सञ्चालन गरेको यस कार्यक्रममा सिक्किमेली कवि भूमिका राई, गायक-सङ्गीतकार बद्री खरेल, साहित्यअनुरागी ठाकुरप्रसाद भट्टराई लगायत अन्य उपस्थित थिए। संयोजक निर्मल सिन्चुरीले पनि कार्यक्रममा कविता सुनाएका थिए। उल्लेखनीय छ, सन् २०१३ को बुद्ध जयन्तीदेखि शब्द समय सालबारीले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्यिक कार्यक्रम आयोजन गर्दै आइरहेको छ, जो अहिलेसम्म निरन्तर चलिरहेको छ भने यसै वर्षको जनवरी महिनामा शब्द समयले कथाअङ्कका रूपमा शब्द समय पुस्तक पनि प्रकाशित गरिसकेको छ।











